काठमाडौं । धनुषा नगराइन नगरपालिकाका कर्मचारी र शिक्षकहरू एक हप्ताहदेखि आन्दोलनमा छन् । पाँच महिनादेखि तलब नपाएको भन्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् ।
मेयर र उपमेयरबीचको विवादले नगरपरिषद् नहुदाँ नगरपापलिकाका कर्मचारी,सो नगरपालिकाभित्रका स्वास्थ्य, शिक्षासहितका कर्मचारीहरूले पछिल्लो ५ महिनादेखि तलबभत्ता पाएका छैनन् । लामो समयदेखि तलबभत्ता नपाएपछि कर्मचारीहरू विगत एक सप्ताहदेखि कामकाज ठप्प गरी नगरपालिका अगाडि धर्ना बसेका छन् ।
कार्यालयको कामकाज ठप्प भएपछि सेवाग्राहीसमेत समस्यामा परेका छन् । यता, विद्यार्थीहरूले शिक्षकहरू धर्नामा बसेपछि पठनपाठनको माग गर्दै जनकपुरधाम–जटही सकड खण्ड अवरुद्ध गर्दै आएका छन् ।
नगरपालिकाको समस्या तत्काल समाधान गरी पठनपाठनको वातावरण मिलाउन मेयर, उपमेयर, प्रशासकीय अधिकृत सबैलाई आग्रह गरे पनि कुनै सुनवाइ नभएपछि आन्दोलनमा उत्रेको विद्यार्थीहरूको भनाइ छ ।
विद्यार्थीहरूले मंगलवार पनि विहान ८ देखि ११ बजेसम्म सो सडक खण्डमा यातायाता अवरुद्ध गरेका छन् । विद्यार्थी संगठन अनेरास्वविय्का केन्द्रीय सदस्य आदर्श मण्डललेले भने, ‘कर्मचारी र शिक्षकका छोराछोरी निजी विद्यालयमा अध्यन गर्छन, सरकारी विद्यालयहरू जति दिन बन्द रहे पनि उनीहरूलाई फरक पर्दैन ।
तर गरिव विपन्नका छोराछोरी सरकारी विद्यालयमा अध्ययन गर्छन् । त्यसकारण सम्बन्धित निकायले तत्काल नगरभित्र पठनपाठनको वातावरण बनाउन आन्दोलनमा छौँ ।’ नगरभित्र पठनपाठनको अवस्था नबनेसम्म आफुहरूको आन्दोलन जारी रहने मण्डलले चेतावनीसमेत दिए ।