काठमाडौं । नेकपा (एमाले)ले घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेको भन्दै भुसाल र साहलाई हटाएको हो ।
उनीहरु दुवै एमालेको स्थायी समिति सदस्य थिए। भुसाललाई टिकट नदिइएपछि उनले चुनावअघि नै पार्टी छाडेका थिए भने साहले टिकट बाँडफाँटमा असहमति जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार त्यसैगरी बैठकले सोही अभियोगमा केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाटीलाई पनि हटाएको हो ।
एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दी शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ । चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधि सभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले जनाए ।
एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी रहेको जनाएको छ।