काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ४८ औं दीक्षान्त समारोहमा पदक दिने विद्यार्थीको नामावली प्रकाशनमा लापरवाही गरेको छ ।
त्रिविले १३ मंसिरमा प्रकाशित गरेको सूचनामा पुस्तकालय तथा सूचना विज्ञान केन्द्रीय विभागकी छात्रा सकुन महर्जनले २०७६ सालको स्नातकोत्तर तहमा ४।०० सीजीपीए प्राप्त गरेको भन्दै चार पदक पाउने सूचीमा राखेको थियो ।
उक्त सूचनामा उनले स्नातकोत्तर तहमा प्रथम भएवापत चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वर्ण पदक र शान्तिनारायण मिश्र स्वर्ण पदक प्रदान गरिने उल्लेख थियो ।
तर त्रिविले त्यसको केही दिनपछि अर्को सूचना जारी गर्दै चान्सलर पदक, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक टीकाराम भण्डारीले पाउने जनाएको छ ।
त्रिविले अघिल्लो वर्षको पदक वितरण छुटेको र विद्यार्थीले दावी गरेको भन्दै संशोधनसहितको नामावली सार्वजनिक गरेको हो ।
त्रिविको संशोधित सूचना अनुसार सकुनले पुस्तकालय विज्ञानमा पहिलो भएवापत पाउने शान्तिनारायण मिश्र पुरस्कार पाउने उल्लेख छ ।
भौतिक शास्त्र केन्द्रीय विभागका विद्यार्थी टीकाराम भण्डारी २०७५ का उत्कृष्ट विद्यार्थी भएको त्रिविले जनाएको छ ।
सकुनले पाउने पुरस्कारमा उनको दावी विरोध परेकाले भण्डारीलाई दिने निर्णय भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।