काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफू सर्वोच्च अदालत जाने भएपनि इजलासमा नबस्ने र अन्य प्रशासनिक काम पनि नगर्ने बताएका छन् । बुधबार आज प्रधानन्यायाधीश जबराले महाभियोग निष्प्रभावी भएसँगै आफू सर्वोच्च जान लागेको बताउँदै यस्तो बताएका हुन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाभियोग निष्प्रभावी भएको पत्र बुझिसकेका छन् । आज संसद सचिवालयले निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिएको हो ।
संसद सचिवालयका प्रवक्ता डा।रोजनाथ पाण्डेकाअनुसार मंसिर २१ गते बुधबार जबरालाई महाभियोग निष्प्रभावी भएको पत्र दिइएको छ । निलम्बित प्रधानन्यायाधीश जबरासमेत अन्य ६ वटा निकायलाई महाभियोग निष्प्रभावी भएको पत्र पठाइएको पाण्डेले बताए ।
उक्त पत्र बुझेसँगै प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत जाने तयारीमा रहेका छन् । धानन्यायाधीश जबराले पत्र बुझिसकेको र सर्वोच्च अदालत जाने तयारीमा रहेको बताए ।
गत वर्षको फागुन १ गते संघीय संसदका ९८ सांसदले प्रधानन्यायाधीश जबरामाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए ।
महाभियोग प्रक्रियामै रहेको समयमा संसदको कार्यकाल समाप्त भएपछि पूर्ववत् महाभियोग सिफारिस समितिले महाभियोग निरन्तर रहने र अर्को संसदले टुंगो लगाउने भन्दै संसदमा सिफारिस गरेको थियो ।
पूर्ववत् संसदको कार्यकाल सकिएसँगै जबरा सर्वोच्च अदालत जान खोजेपनि सरकारले उनलाई प्रधानन्यायाधीशको निवासबाट बाहिर निस्कन दिएको थिएन ।
मंगलबार जबराले संघीय संसद सचिवालयमा आफ्नो महाअभियोगको सम्बन्धमा के कसो भएको हो र महाभियोग अझै बाँकी नै हो कि सकियो भनेर निवेदन दिएका थिए ।