काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार एक करोड पाँच लाख ६० हजार ८२ मतगणना भएको छ ।
आयोगका अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २८ लाख ४५ हजार छ सय ४१ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ ।
यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार तीन सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार तीन सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ । प्रतिनिधिसभामा कुल १२ दलको प्रतिनिधित्व हुने भएको छ ।
प्रत्यक्षतर्फको मतगणना भने यसअघि नै सकि सकेको छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५७, एमालेले ४४, माओवादी केन्द्रले १८ ठाउँमा जितेको छ । यस्तै एकीकृत समाजवादीले १०, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले ७/७ ठाउँमा जितेका छन् ।
यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ ठाउँमा जितेका छन् । राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक/एक ठाउँमा विजयी भएका छन् । स्वतन्त्र उम्मेदवारहरुले पाँच ठाउँमा जितेका छन् ।
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि प्राप्त मत र भारका आधारमा दलहरुले प्राप्त गर्ने सिट सङ्ख्या निर्धारणको तयारी गरेको छ । विवरण अनुसार एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । एकीकृत समाजवादीले भने प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दल बन्न चुकेको छ । आयोगले २६ गतेभित्रमा चुनावी मतपरिणामको प्रतिवेदनसहित राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ ।