काठमाडौं । निर्वाचन आयोगले पूर्ण रूपमा निर्वाचनको प्रक्रिया नटुंगिएसम्म आचारसंहिता लागू हुने बताएको छ । आयोगले आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे ।
उनले समानुपातिक निर्वाचन प्रणालीको मतगणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुंगो लागिसकेपछि मतहरूको हिसाब गरेर दलहरूलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसदको नाम पेस गर्नुपर्ने उल्लेख गरे ।
उनले निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने बताए ।
उनले भने, ‘आचारसंहिताको कार्यान्वयनकोे सम्बन्धमा कानूनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू गर्न सक्नेछ भन्नेछ। लागू गर्न सक्नेले त्यसलाई हटाउन सक्ने पनि अधिकार राख्छ। निर्वाचन, प्रचलन, व्यवस्थापन र कानूनले पनि धेरै ठाउँमा भनेको कुरा के हो भने निर्वाचन नसकिएसम्म आचारसंहिता लागू रहन्छ। हामी अहिले निर्वाचनकै क्रममा छौं। समानुपातिक निर्वाचन प्रणालीको पनि गणना अहिले चलिरहेको छ। समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको हिसाब गरिसकेपछि दललाई हामीले पत्र लेख्छौं।’
उनले अघि भने, ‘यति दिनभित्र आफ्नो प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट पेस गर्नु भनिन्छ, नमिले फेरि पठाइन्छ। त्यो पनि एक किसिमले निर्वाचनको एउटा पार्ट नै हो। आयोगले सबै कुरा टुंग्याएर अन्तिम प्रतिवेदन राष्ट्रपतिकहाँ बुझाएर परिणाम प्रकाशन गर्छ। यो बेला सम्मको अवस्था आचारसंहिता लागू भएकै अवस्था हो।’
सहायक प्रवक्ता अर्यालले मंसिर २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताए । उनले समानुपातिक मत परिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने बताए ।