काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए ।
आयोगले गैरकानुनी सम्पत्ति आर्जन, सरकारी स्रोतको दुरुपयोग गरी भ्रष्टाचार र अनियमिततासम्बन्धी अनुसन्धान गर्ने भएकाले अधिकार क्षेत्र भएको निकायलाई नै अनुसन्धान गर्न पत्र पठाइएको प्रवक्ता भण्डारीको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानेको नागरिकता र राहदानी विवादबारे नेपाल प्रहरीले पनि अनुसन्धान गरिरहेको छ ।
अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता नलिएको आरोप उनीमाथि छ । खारेज भएकै नागरिकताका आधारमा निर्वाचनमा समेत भाग लिएर दुरुपयोग गरेको आरोप उनीमाथि छ ।
अख्तियारले नागरिकता वितरणदेखि त्यससम्बन्धी विवादमा अनुसन्धान गर्ने निकाय गृह मन्त्रालय भएको भन्दै उतै पत्र पठाएको हो । त्यस्तै, उनको नागरिकता विवाद अमेरिकाको स्थायी प्रमाणसँग पनि जोडिएकाले परराष्ट्रमा समेत पठाइएको हो ।
लामिछाने लामो समय अमेरिकामा बसोबास गरेर नेपाल फर्केका हुन् । उनले नेपालमा रहँदा नागरिकता विवादको कुरा उठेपछि अमेरिकी स्थायी आवास सम्बन्धी विवरण बुझाएका थिए ।
नागरिकता विवादमा उनी दोषी देखिएमा नागरिकता ऐनअनुसार सजाय हुनेछ ।