काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतपरिणाम आउन अब एक क्षेत्रको मात्रै बाँकी छ । १६५ प्रतिनिधि सभा क्षेत्रमध्ये दोलखाको मात्रै मतपरिणाम आउन बाँकी छ। प्रत्यक्ष तर्फका ३३० प्रदेश सभा क्षेत्रमध्ये ३२९ को मतपरिणाम पनि आइसकेको छ ।
प्रदेशको समानुपातिकतर्फ मतगणना गरेर सकिनै लागेको छ । त्यस्तै प्रतिनिधि सभा समानुपातिकतर्फ मतगणना पनि अन्तिम चरणमा पुगिसकेको छ । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ र समानुपातिक ११० गरी २७५ जना सांसद हुन्छन् ।
प्रतिनिधि सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५७ क्षेत्र जितेको छ। नेकपा (एमाले)ले ४४, नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजवादी)ले १०, जसपाले ७, राप्रपाले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, स्वतन्त्रले ५, लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका छन्।
प्रदेशतर्फ पनि प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । कांग्रेसले ११० सिट जितिसकेको छ भने एकमा अघि छ। एमालेले ९१, माओवादीले ५३, एकीकृत समाजवादीले १५, स्वतन्त्रले १२, राप्रपाले ११, जसपाले १०, लोसपाले ९, जनमत पार्टीले ७, नागरिक उन्मुक्ति पार्टीले ५ सिट जितेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रतिवेदन मंसिर २६ गतेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरिसक्ने बताएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनसम्बन्धी सबै कामहरू सकेर मंसिर २६ मा राष्ट्रपतिलाई प्रतिवेदन बुझाइने बताएका छन् । यसअघि आयोगले मंसिर २२ मा राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो तर केही क्षेत्रमा मतगणनामा ढिलाइ भएको थियो ।
प्रत्यक्षतर्फ र समानुपातिकतर्फ मतगणना सकेपछि आयोगले समानुपातिकतर्फ सांसद पनि निर्वाचित गराउन प्रक्रिया सुरू गर्नेछ । सदर मतमध्ये तीन प्रतिशत मत नल्याउने दलले समानुपातिकतर्फ सांसद बनाउन पाउने छैनन् ।
दलहरूले समानुपातिकमा प्राप्त गरेको मतका आधारमा सिट निर्धारण गरिन्छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुने गरी आयोगले दलहरूबाट यसअघि नै बुझाइएका बन्दसूचीअनुसार निर्वाचित हुने सांसद चयन गर्छ ।
प्रदेशतर्फ भने सदर मतको १.५ प्रतिशत मत ल्याउने दलले समानुपातिक सांसद बनाउन पाउँछन् । प्रदेशका समानुपातिकमा २२० जना सांसद चुनिने व्यवस्था छ। समानुपातिकतर्फ प्रतिनिधि सभा र प्रदेश सभाका सांसद निर्वाचित गर्न निर्वाचन आयोगलाई थप केही दिन समय लाग्ने देखिन्छ ।
प्रत्यक्ष र समानुपातिकतर्फ सबै सांसद चुनिइसकेपछि दलहरूले संसदीय दलको निर्वाचन गर्नेछन्। संघ र प्रदेशमा संसदीय दल छ । अधिकांश दलमा संसदीय दलमा सहमति हुने देखिए पनि नेपाली कांग्रेसमा भने निर्वाचन हुने संकेत देखिएको छ ।