जाडो समय बच्चाका लागि एकदमै संवेदनशील हुन्छ । बच्चाको छालामुनि बोसोको मात्रा कम हुने भएकाले उनीहरू चिसोबाट बढी प्रभावित हुने गर्छन् । त्यस्तै, बच्चामा रोग प्रतिरोधात्मक क्षमताको कमी हुन्छ । यसले गर्दा उनीहरूलाई रोगले चाँडै सताउने प्रबल सम्भावना रहन्छ । जाडो मौसममा नवजात शिशुको शरीरको तापक्रम कम हुन्छ । फलस्वरूप चिसो लाग्ने सम्भावना बढी हुन्छ ।
विशेषतः पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई रुघाखोकी, निमोनिया, श्वासप्रश्वास समस्याजस्ता रोगले बढी सताउने हुन्छ । ६ महिनाभन्दा कम उमेरका बच्चाको हेरचाहमा खासै कमी हुँदैन । आमाको दूध मात्र खाने बच्चालाई चिसोबाट बचाउन पनि सजिलो हुन्छ ।
तर, बाहिरी वातावरणमा मनलाग्दी खेल्ने बच्चालाई चिसोले सताउन सक्छ । चिसो मौसममा बालबालिकामा प्राणघातक रोग रोटा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । तसर्थ, यसबाट उनीहरूलाई बचाउन अभिभावक चनाखो हुन जरुरी छ । जसका लागि उनीहरूलाई चिसो लाग्न नदिने, व्यक्तिगत सरसफाइ तथा खानपानमा ध्यान दिने गर्नुपर्छ । यसका साथै प्रशस्त मात्रामा जीवनजल, जिंक चक्की आदि खुवाउनुपर्छ ।
चिसोबाट बचाउने उपाय
आवश्यक न्यानो कपडा लगाइदिने
बच्चालाई चिसोबाट बचाउन न्यानो लुगा लगाइदिनुपर्छ । बच्चालाई न्यानो राख्ने नाममा धेरै बाक्लो लुगा पनि लगाइदिनु हुँदैन । अनावश्यक तरिकाले बाक्लो लुगा लगाउँदा पसिना आउँछ । सो पसिना शरीरमै सुक्ने भएकाले उनीहरूमा रुघा लाग्ने, निमोनिया हुने सम्भावना रहन्छ । अझ कपासको लुगाले त पसिना सोस्ने भएकाले बारम्बार चिसो भइरहन्छ ।
हिटर तथा आगो बाल्दा ध्यान दिने
बच्चालाई चिसोबाट बचाउन भनेर हिटर ताप्ने गरिन्छ । बन्द कोठामा हिटर बाल्दा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । यसले बच्चालाई मात्र नभएर ठूलै मानिसलाई समेत असर पार्छ । सुतेका वेला हिटर बालेकै कारण कोठामा अक्सिजन कम भएर मानिसको मृत्युसमेत हुन सक्छ । यससँगै, मट्टीतेल हिटर, ग्यास हिटर, कोइला आदि कोठामा बाल्दा सजग हुन आवश्यक छ ।
घाम तपाउने
बच्चालाई न्यानो राख्नमा सूर्यको तापको पनि जरुरत पर्छ । यसका लागि मध्याह्न १२ बजेभन्दा अघिको घाममा सुताउन उपयुक्त हुन्छ । घाम तपाउने क्रममा तोरीको तेल, नरिवलको तेल वा ओलिभ आयलको तेलले मालिस गरिदिन आवश्यक छ । कान, नाक, नाइटोमा तेल लागेमा संक्रमणको खतरा हुन्छ । यसर्थ, सजग होऔँ ।
सरसफाइमा ध्यान दिने
जाडोयाममा चिसो लाग्छ भनेर बच्चालाई धेरै दिनसम्म ननुहाई राख्ने गरेको पाइन्छ । यो सरासर गलत हो । बच्चामा लाग्ने कतिपय रोग सरसफाइको कमीका कारणसमेत लाग्ने गर्दछन् । त्यसैले, बच्चा र आमा दुवैको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ । नियमित नुहाइदिएमा खटिराजन्य रोग र रुघाखोकीबाट बचाउन सकिन्छ ।
फलफूल तथा झोलिलो खानेकुरा प्रशस्त खुवाउने
जाडो मौसममा चिसोले भेट्ने डरले कतिपय अभिभावकले बालबालिकालाई फलफूल खुवाउन डराउने गरेको पाइन्छ । तातोपानीले पखालेर मौसमअनुसारका ताजा फलफूल खुवाएमा चिसोले भेट्दैन ।