काठमाण्डौ । नागरिक अगुवा एवं विश्लेषक गौरी प्रधानले भर्खरै सम्पन्न निर्वाचन परिणामले परिवर्तनको संकेत गरेको बताएका छन् ।
क्यापिटल मिडिया ग्रुपको विशेष कार्यक्रम सिधा कुरामा बोल्दै प्रधानले नेपालका मूल राजनीतिमा नयाँ शक्तिको उदयले नयाँ अनुहारहरुलाई खोजेको संकेत गरेको बताए ।
विगतको निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा जनताको उत्साह कम भएको बताउँदै प्रधानले अहिलेको निर्वाचनले नेपालको राजनीतिक प्रणालीलाई समेत केही प्रश्न उब्जाएको बताए ।
संघीयतालाई संस्थागत गर्नका लागि प्रादेशिक संरचनाले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै प्रधानले भने, ‘प्रादेशिक विकासलाई नजर अन्दाज गर्न सकिँदैन, क्षेत्रीय विकासको अवधारणा पञ्चायतमा पनि थियो, अहिले प्रादेशिक सभाहरुमा भने खर्चालु प्रकृतिको छ ।’
प्रदेश सरकारमा सन्तुलित विकास हुन नसकेको बताउँदै प्रधानले प्रादेशिक विकासका भावनालाई नजरअन्दाज गर्न नसकिने बताए । प्रधानले गएको पाँच बर्षमा प्रादेशिक सरकार र सभामा नयाँ स्वरुप देखिन नसकेको बताए ।
स्वतन्त्र र स्वतन्त्रता भन्ने कुरा कसैको सम्पत्ति नभएको बताउँदै प्रधानले स्वतन्त्रता नागरिकका हक अधिकारको बिषय भएको बताए । उनले राजनीतिक नेतृत्वमा बढीमा १५ बर्षसम्म रहनु स्वभाविक भएको बताउँदै लामो समयसम्म एउटै अनुहार देख्दा जनतामा समेत नैराश्यता छाएको बताए । उनले भने, ‘अबको परिवर्तनलाई कसैले रोक्न सक्दैन, युवाहरुको रुपान्तरणको प्रक्रिया स्वभाविक रुपबाट आउनुपर्दथ्यो, ३० बर्षसम्म एउटै अनुहार जनताले हेर्नुपर्ने त ? त्यो गाह्रो हुन्छ ।’