काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मेक्सिकोले जित निकालेको छ । लुसाइल स्टेडियममा बुधबार राति मेक्सिकोले साउदी अरेबियालाई २-१ गोल अन्तरले हराएको हो । खेलको ४७ औं मिनेटमा हेनरी मार्टिनले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
साउदीमाथि जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ । समूह ’सी’ को मेक्सिकोले ३ खेलमा ४ अंक जोड्यो । मेक्सिको तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।
त्यस्तै, अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । स्टेडिय ९७४ मा बुधबार राति पोल्याण्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।
अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यस जितसँगै अर्जेन्टिना समूह ’सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो । पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
त्यस्तै, अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १–० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो ।
अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो।
अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । यस जितसँगै अष्ट्रेलिया समूह ’डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो । डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।
त्यस्तै, कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ । एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १–० गोल अन्तरले हराएको हो ।
ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे । समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । समूह ’डी’ को फ्रान्सले ३ खेलमा ६ अंक जोड्यो । ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । ट्युनिसियाले ३ खेलमा ४ अंक जोड्यो ।