काठमाडौं । अमेरिका कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति इरानलाई १-० गोल अन्तरले हराउँदै अमेरिका राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
अमेरिकाको जितमा क्रिस्टियन पुलि सिचले निर्णायक गोल गरे । यस जितसँगै अमेरिका समूह ’बी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अमेरिकाले ३ खेलमा ५ अंक जोड्यो । इरान ३ अंक जोडेर तेस्रो स्थानमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यस्तै, सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इक्वेडरलाई २–१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।
यस जितसँगै सेनेगल समूह ’ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । सेनेगलले ३ खेलमा ६ अंक जोड्यो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ ।
त्यस्तै, इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड राउण्ड अफ १६ मा प्रवेश गरेको हो।
इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई गोल गरे । जितसँगै इंग्ल्यान्ड समूह ’बी’ को विजेता बनेको छ । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान हासिल गर्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहदै प्रतियोगिताबाट बाहिरिएको छ ।
त्यस्तै, नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे। यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो। नेदरल्यान्ड्स समूह 'ए' को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो। कतारले ३ खेलमा अंक जोड्न सकेन । कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।