काठमाडौं । कर्णाली प्रदेशमाथि ७ विकेटको जित निकालेको बागमती प्रदेशले राजधानीमा जारी वाइ वाइ यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा कर्णाली प्रदेशले ३६.२ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ३१ रनको लक्ष्य बागमती प्रदेशले ३ विकेटको क्षतिमा पूरा गरेको हो ।
यससँगै बागमतीले जारी प्रतियोगितामा अपराजित यात्रालाई चौथो खेलमा पनि निरन्तरता दिएको हो । मध्यम लक्ष्य पछ्याएको बागमतीका लागि लुक्की कठायतले अर्धशतकीय पारी खेले ।
८ चौका प्रहार गर्दा उनी ५१ रनमा अविजित रहे । यस्तै अशोक पोडेलले पनि अर्धशतकीय इनिङ खेले । ६४ बलको सामना गरेका पौडेलले ७ चौका र १ छक्का हिर्काएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकको स्कोर गर्न सकेनन्।
बलिङतर्फ कर्णालीका अनुज चनारा, युनिस सिंह र आवास साहले समान १/१ लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णालीका लागि कप्तान विपिन रावलले अर्धशतकीय पारी खेले ।
उनले ९२ बल खेल्दा ९ चौकाको सहयोगमा व्यक्तिगत ६८ रनको योगदान गरेका थिए । यस्तै अर्का ओपनर मनिस थापाले २५ रन जोड्दा अनिरुद्ध कावरले ११ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको पारी खेल्न सकेनन्।
बलिङतर्फ ७।२ ओभर बलिङ गरेका सक्रिय कार्कीले २ मेडन राख्दै २३ रन खर्चिएर सर्वाधिक ५ विकेट निकाले। अहम्मद राजाले ३ विकेट हात पार्दा ओमकार यादव र अभिषेक कोइरालाले १–१ विकेट आफ्नो नाममा लेखाए । यस जितसँगै बागमतीले ४ खेलबाट ८ अंक जोडेको छ ।
कर्णालको समान चार खेलबाट २ अंक मात्र छ । सुदूरपश्चिमसँग समान ८ अंक बनाएको बागमती तालिकाको दोस्रो स्थानमा छ ।