काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमण फैलिँदै गएको भन्दै आगामी भदौ ३१ गतेसम्मका लागि अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवागमन रोक्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय हिँजो सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले यसअघि साउन ३२ गतेसम्मका लागि अन्तर्राष्ट्रिय नाकाबाट हुने आवागमन कोरोना सङ्क्रमण बढ्न थालेपछि भदौ ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
त्यस्तै मन्त्रिपरिषद्को गत साउन ५ गतेको निर्णयानुसार जारी भएको आदेशमा हेरफेर तथा थपघट गर्ने गरी राजपत्रमा प्रकाशन गर्नेसमेत निर्णय गरेको छ । गत साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट लामो दूरीका सार्वजनिक यातायात, हवाई सेवा सञ्चालन गर्ने निर्णयलाई पनि परिमार्जन गर्दै भदौ १६ गतेबाट मात्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयानुसार अब होटल तथा रेष्टुराँबाट तयार गरिएका खाद्य परिकार लैजाने सेवा मात्र पाउने भएका छन् । बैठकले कोभिड–१९ सङ्क्रमणका सक्रिय सङ्क्रमित २०० बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एव वित्तीय सङ्घ–संस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवं सङ्घ–संस्थाले विद्युतीय माध्यमबाट समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने निर्णय गरेको जानकारी दिनुभयो ।
ती निकायको कार्यसम्पादन एवं सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीलाई सुरक्षितरूपमा घरबाटै सम्पादन गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउने निर्णय गरिएको छ ।
यसैगरी बैठकले काठमाडौँ भक्तपुर र लतिलपुर जिल्लाभित्र आवतजावत गर्नेबाहेक कोभिड–१९ को सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा स्थानीय प्रशासनको अनुमतिबाहेक आवतजावतमा रोक लगाएको छ ।
फुटपाथ र खुला ठाउँ र ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडालगायतका खुद्रा व्यापार व्यवसाय एव कवाडी सङ्कलनजस्ता कार्य जथाभावीरूपमा सञ्चालन हुँदा भीडभाड बढ्ने र कोभिड–१९ को सङ्क्रमण समुदायस्तरसम्म विस्तार हुने जोखिम बढेकाले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय गरेको छ।
दैनिक ५ सयका लागि उडान भर्न अनुमति
मन्त्रिपरिषद्को निर्णयबमोजिम अनुमति भएका व्यक्तिलाई नेपाली कूटनीतिक नियोगको सिफारिसमा ३०० र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी उद्धार गरिने २०० जना नेपाली नागरिकसमेत गरी दैनिक कुल ५०० जनाको सङ्ख्यामा नबढ्ने गरी उडान अनुमति दिएको खतिवडाले जानकारी दिनुभयो।
मन्त्री डा खतिवडाका अनुसार सरकारले हाल सङ्क्रमणको दर बढेका, सङ्क्रमणको उच्च जोखिममा रहेका एवं आवश्यक मात्रामा स्वास्थ्यकर्मीको अभाव देखिएका स्थानमा स्वास्थ्य मन्त्रालयबाट तत्काल आवश्यक जनशक्ति खटाई स्वास्थ्य सेवालाई सुदृढ र प्रभावकारी गराउने निर्णय गरेको छ ।