काठमाडौं । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ । कतारमा जारी फिफा विश्वकपमा शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो । लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । समूह डीको खेलमा शीर्ष स्थानको फ्रान्सले ६ अंक जोडेको छ । अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ । डेनमार्क र ट्युनेसिया समान एक अंक सहित क्रमश तेस्रो र चौथो स्थानमा छन् ।
त्यस्तै, पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २–० गोल अन्तरले पराजित गरेको हो । एजुकेशन सिटी स्टेडियममा भएको खेलमा पोल्याण्डको जितमा ३९ औं मिनेटमा प्रिटो जिलेन्स्कीले गोल गरे ।
८२ औ मिनेटमा कप्तान रोर्बट लेभान्डोस्किले दोस्रो गोल गरेका थिए । पहिलो खेलमा मेक्सिकोसँग गोलरहित बराबरीमा रोकिएको पोल्याण्डले दोस्रो खेलमा जित हात पारेको हो । बलियो मानिएको अर्जेन्टिनालाई पहिलो खेलमा पराजित गरेको साउदीको भने यो पहिलो हार हो । पहिलो जित हात पारेको पोल्याण्ड समूह ’सी’ को शीर्ष स्थानमा रहँदा हारका बाबजुत साउदी दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै, फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो। समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित बनेको हो ।
जितसँगै अर्जेन्टिनाले विश्वकपको अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । समूह सीमा अर्जेन्टिना तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको साउदीको समेत समान तीन अंक छ । पोल्याण्ड ४ अंक सहित समूहको शीर्ष स्थानमा छ । एक अंक सहित मेक्सिको पुछारमा छ ।
त्यस्तै, हिजो भएको पहिलो खेलमा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । कतारको अल जानौब रंगशालामा केहि बेर अघि सम्पन्न खेलमा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १–० गोलको कठिन जित निकालेको हो । यो जितसँगै अस्ट्रेलियाले पहिलो जित निकालेको छ । पहिलो खेलमा फ्रान्स सँग पराजित भएको अस्ट्रेलियाले ३ अंक जोडेको छ ।