काठमाडौं । इंग्ल्यान्डले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । खालिफा इन्टरनेसनल स्टेडियममा सोमबार इरानमाथि ६–२ गोलको सानदार जित निकाल्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो ।
इंग्ल्यान्डको जितमा बुकायो साकाले दुई गोल गरे । जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस राषफोर्ड र ज्याक ग्रेलिसले एक एक गोल गरे । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए ।
यस जितसँगै इंग्ल्यान्डले पहिलो खेलमै ३ अंक जोडेको छ । समूह ’बी’ को इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ । इरानले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।
त्यस्तै, नेदरल्यान्ड्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । दोहास्थित अल थुमामा स्टेडियममा सोमबार राति सेनेगललाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो ।
नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाक्पो र डाभी क्लासेनले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले दुबै गोल गरेको थियो । यस जितसँगै नेदरल्यान्ड्सले पहिलो खेलमै ३ अंक जोडेको छ ।
समूह ’ए’ मा रहेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । सेनेगलले भने हारबाट विश्वकपको सुरुआत गरेको छ । सेनेगल तेस्रो स्थानमा रहेको छ ।
त्यस्तै, कतारमा जारी फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन् । अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेलेका छन् ।
प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो । खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो पहिलो विश्वकप गोल हो । तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १–१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै वेल्स र अमेरिकाले एक एक अंक पाएका छन् । समूह ’बी’ मा रहेको वेल्स १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अमेरिका १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।