काठमाडौं
सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । कुनै संक्रमित व्यक्ति आफु घरमै आइसोलेसनमा बस्न चाहेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्नुपर्ने जनाइएको छ ।
ज्स अनुसार होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभर आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने छ ।
त्यस्तै आफुले प्रयोग गरेका भाँडाहरू सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नान घर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै दाँत माझ्ने ब्रस लागयतका सामानहरु बेसिनबाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।
संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले बढी जोखिममा रहने समूह–दीर्घ रोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवती र सुत्केरीलाई टाढा राख्नुपर्ने छ । यस्तै दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने छ ।
संक्रमितलाई स्वास प्रस्वासमा कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन भनिएको छ । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तीमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी दिनुपर्ने छ । हरेक स्थानी तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने छ ।