काठमाडौं । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदान केन्द्रमा आवश्यक व्यवस्थापन र तयारीको काम अन्तिम चरणमा पुगेको छ । सबै मतदान केन्द्रमा हिजैदेखि महिला, पुरुष र अशक्त÷अपाङ्गता भएका मतदाताको लागि छुट्टाछुट्टै लाइन बनाउने काम सुरु भएको छ ।
मतदान स्थल र मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउने काम पनि भइरहेको निर्वाचन आयोगले जनाएको छ । सबै मतदान स्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन् । देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् ।
त्यस्तै समानुपातिकमा मात्रै मत दिने अस्थायी मतदाताका लागि १ सय ४१ अस्थायी मतदान केन्द्र तोकिएको छ । चुनावका लागि मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी तथा नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख सुरक्षाकर्मी खटिएका छन् ।
चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । मतदाता नामावलीमा नाम भएका २१ लाखभन्दा धेरै मतदाता विदेशमा रहेको अनुमान छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फ २ हजार ४१२ जना र समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवार छन् ।
त्यस्तै, प्रदेश सभाका लागि प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ जना उम्मेदवार छन् । चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन सुरक्षा व्यवस्था मिलाइसकेको आयोगले जनाएको छ । आयोगकाअनुसार हरेक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था गरिएको छ ।