काठमाडौं । मःम, चाउमिन, समोसा, रोटी, पराठा, चिप्स, बिस्कुट, चाउचाउ, थुक्पा । यी हाम्रा दैनिक खाजा नास्ताका सूची हुन्, जुन मैदाबाट बन्छन् । यसको अर्थ हाम्रो आहारमा मैदा अनिवार्य जस्तै हुन थालेको छ ।
तर चिकित्सकहरु भन्छन्, ‘मैदा खानु स्वास्थ्यका लागि उचित छैन ।’खासमा मैदा किन ‘खान हुन्न’ भनिन्छ ? मैदा कसरी बन्छ ? मैदाजन्य खानेकुराले शरीरमा के गर्छ ?
आटा र मैदामा फरक
आटा भनेको प्रकृति हो र मैदा भनेको विकृति । गहुँ अन्नहरूमध्ये सर्वोकृष्ट खाद्य पदार्थ हो । यसमा फाइबर, भिटामिन र मिनरल्स हुन्छ ।
यसमा भएका प्राकृतिक गुणहरूलाई नष्ट नगरी आटा तयार गरिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई हटाएर मैदा बन्छ, जसमा पोषिलो तत्व नष्ट हुनपुग्छ ।
मैदा बनाउन गहुँमा भएको बोक्रा निकालिन्छ र सेतो भागलाई अत्यन्त मसिनो गरी पिसिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई मिल्काएर मैदा तयार गरिन्छ त्यसलाई उज्यालो, सेतो र चम्किलो बनाउन ब्लिचिङ गरिन्छ र केही रसायन पनि मिसाइन्छ ।
त्यसैले आटालाई स्वस्थकर मानिन्छ र मैदालाई अस्वस्थकर । आटा सुपाच्य हुन्छ । आटाले क्षरीय तत्त्वको निर्माण गर्छ र यो सजिलै पच्छ । तर मैदा पेटमा पुगेपछि त्यसले अम्लीय तत्त्वको निर्माण गर्छ । अम्ल हाम्रो शरीरमा जति बढी भयो त्यति हानिकारक हुन्छ ।
मैदामा अतिरिक्त रसायनको मिश्रण
मैदालाई सेतो र चम्किलो बनाउन ब्लिचिङ केमिकलको प्रयोग गरिन्छ । केही मिनरल्स केमिकलको पनि प्रयोग हुन्छ जसले गहुँमा भएको पोषकतत्त्व घटाउँछ ।
मैदालाई प्याक गर्नको लागि हावा सजिलै नपस्ने बोराको प्रयोग गरिन्छ । जुन खानेकुरामा हावा सजिलै प्रवाह हुँदैन त्यो खानेकुरा अस्वस्थकर हुन्छ ।
मैदा अखाद्य होइन तर अस्वस्थकर
मैदा अखाद्य भन्दा पनि हानिकारक हो । साबुनलाई खानेकुरामा मिसाइयो भने त्यो चाहिं अखाद्य हुन्छ, किनकि साबुन खानै मिल्दैन । मैदालाई खान त मिल्छ तर यो स्वस्थरकर भने होइन । मैदालाई हानिकारक खाद्य पदार्थ भन्न सकिन्छ । विश्वमा ८० देखि ९० प्रतिशत खानेकुरा मैदाकै छ । तर यसले हाम्रो स्वास्थ्यलाई फाइदा भन्दा पनि हानि गर्छ ।
मैदा बनाउँदा सबैभन्दा पहिले गहुँको बोक्रा निकालिन्छ । बोक्रामा फाइबर हुन्छ बोक्रा निकालेपछि त्यसमा फाइबर भएन । दानामा भिटामिन हुन्छ । धेरै मसिनो गरी पिस्दा धुँदा त्यसमा भएको भिटामिन पनि नष्ट हुन्छ । दानाको सबैभन्दा भित्रको भागमा सूक्ष्म पोषकतत्त्व ‘मिनरल्स’ हुन्छ । धेरै पिसेर निचोरेपछि त्यसमा भएको मिनरल्स पनि नष्ट हुन पुग्छ । यसरी यसमा भएका सम्पूर्ण गुण नष्ट भएपछि यो हानिकारक हुन्छ ।
हामी स्वस्थकरभन्दा पनि स्वादिलो खानेकुरामा बढी जोड दिन थाल्यौं । ६० किलोको शरीरलाई ध्यान नदिएर ६० ग्रामको जिब्रोको वशमा हामी परेका छौं । जसले हामीलाई मैदाजन्य खानेकुरा बढी मन पर्छ र बजारमा पनि त्यही मैदाले बनेको खानेकुरा बढी उपलब्ध हुन थाल्यो ।
गहुँको च्याँख्ला, दलिया र सामान्य आटा खायो भने हामी पुरानो जमानाको हुन्छौं । त्यही गहुँको मैदाबाट बनेको केक, पाउरोटी खायो भने सहरिया हुन्छौं । त्यसैले सहरिया आधुनिक हुने होडमा मान्छेले मैदाले बनेका खानेकुरा बढी खान थाले र बजारमा पाइने धेरैजसो खानेकुरा मैदाकै पाइन थाल्यो ।
आटा सजिलै पच्छ, मैदा पच्दैन
आटाको बोक्रामा हुने फाइबरले हाम्रो आन्द्रालाई सबलता दिन्छ । खानेकुरा टुक्रिन र पच्न फाइबर आवश्यक हुन्छ । तर मैदा बनाउँदा बोक्रा फालिन्छ ।
फाइबर नभएकाले मैदालाई हाम्रो पेटले राम्ररी पचाउन सक्दैन जसले गर्दा कब्जियत, अपच, भोक नलाग्ने, कोलेस्टेरोल हुने हुन्छ ।
स्वादका लागि र पेट भर्न मात्र मैदाजन्य खानेकुरा ठीक हो । तर स्वस्थ शरीरको लागि भने यो हानिकारक हो ।