काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीको एउटा कार्यक्रममा नेपालको राष्ट्रिय गान बजेपछि उनको आलोचना भइरहेको छ ।‘भारत जोडो यात्रा’मा त्यहाँको राष्ट्रिय गानको सट्टा गलत गीत (नेपालको राष्ट्रगान) बजाएको भन्दै गान्धीलाई सामाजिक सञ्जालमा ट्रोल बनाइएका हुन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना महाराष्ट्रको वाशिमको हो । राहुलले बुधबार त्यहाँ एक कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
यस क्रममा राहुलले भने– अब राष्ट्रिय गान बजाइन्छ तर नेपालको राष्ट्रिय गान बजाइयो। त्यसमा उनले तुरुन्तै रोकेर राष्ट्रिय गान सुरु गर्न भने। भाजपा नेताहरुले यो भिडिओ सेयर गरेर प्रश्न उठाइरहेका छन्। उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।
महाराष्ट्रका बीजेपी नेता नितेश राणेले ट्विट गरेका छन्, ‘राहुलको कमेडी सर्कस। यस्तै तमिलनाडु भाजपा नेता अमरप्रसाद रेड्डीले पनि यो भिडिओ सेयर गरेका छन्। उनले सोधेका छन् – राहुल गान्धी, यो के हो?
भिडिओमा राहुल गान्धी र कांग्रेसका केही नेताहरू मञ्चमा उभिएको देखिन्छ। यसैबीच राहुलले नजिकै उभिएका नेतालाई राष्ट्रिय गान बजाउन आग्रह गर्छन् । यसपछि सबैजना सतर्कताको मुद्रामा उभिन्छन् तर भूलवश नेपालको राष्ट्रिय गान बज्न थाल्छ ।
यद्यपि, राहुलले तुरुन्तै नेताहरूलाई त्यो रोक्न र राष्ट्रगान बजाउन आग्रह गर्छन् । यस घटनापछि राहुल ट्रोलको निशानामा परेका छन् । मानिसहरुले अनेक किसिमका कमेन्ट गरिरहेका छन् ।
एक प्रयोगकर्ताले सोधेका छन् – यो नेपालको राष्ट्रिय गान हो अर्का प्रयोगकर्ताले भनेका छन्– राष्ट्रगानको अपमान गर्ने यी व्यक्तिहरुविरुद्ध मुद्दा दर्ता गर्नुपर्छ । अर्का एक प्रयोगकर्ताले यो राहुल गान्धीविरुद्धको षड्यन्त्र भएको लेखेका छन् ।