काठमाडौंं । प्रेस काउन्सिल नेपालले चुनावका क्रममा राजनीतिक दल र उम्मेदवारले सञ्चारमाध्यममा गरेका विज्ञापन नियमन गर्न विज्ञापन बोर्डलाई बुधबार (आज) पत्र पठाएको छ । निर्वाचन आचारसंहिता बाहिर गएर विज्ञापन भइरहेकोले आवश्यक कारबाहीका लागि बोर्डलाई पत्र पठाइएको काउन्सिलले जनाएको छ ।
अनुगमनका क्रममा सञ्चारमाध्यमबाट विज्ञापन प्रचार गर्दा निर्वाचन आचारसंहिताबमोजिमको आकार(समयावधि)पटक र सःशुल्क जनाउनेतर्फ चासो दिएको नपाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले यसअघि पनि सम्बन्धित सञ्चारमाध्यमलाई ध्यानाकर्षण एवम् सचेत गराइरहेको छ ।
काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा बोर्डलाई विज्ञापन निमयन गर्न भनिएको जनाइएको छ । काउन्सिलले आज नै कान्तिपुर दैनिक, नयाँ पत्रिका दैनिकलगायत केही सञ्चारमाध्यमलाई आचारसंहिता बाहिर गई विज्ञापन दिएको विषयमा सचेत गराएको छ ।
यस्तै, राजनीतिक दलका उम्मेदवारले चुनावीसभामा बोलेको विषयलाई सञ्चार माध्यमकै धारणाजसरी शीर्षक चयन गरेकोमा शीर्षक चयनमा सावधानी अपनाउनेतर्फ सरकारी सञ्चार माध्यम गोरखापत्र दैनिकलाई ध्यानाकर्षण गराएको छ । अनुगमनका क्रममा ९३ सञ्चार माध्यमले आचारसंहिता प्रतिकूल हुने गरी सामग्री सम्प्रेषण गरेको देखिएको छ ।
विशेष अनुगमन प्रारम्भ भएयता कार्तिक ३० गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणअनुसार अनुगमनको दायरामा रहेका २२ वटा छापा माध्यम, ५ वटा टेलिभिजन, रेडियो २०, ४६ वटा अनलाइन, ५ वटा वेबपोर्टलले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको पाइएको छ ।
यी समाचार माध्यममध्ये ६ वटालाई निर्देशन, ५० वटालाई ध्यानाकर्षण, २२ वटालाई सचेत र १२ वटालाई स्पष्टीकरण सोधिएको छ । दर्ता(सूचीकरण नभएका ५ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार गरिएको छ भने ३ वटा अनलाइन माध्यमलाई फोन सम्पर्क गरी ध्यानाकर्षण गराइएको छ ।