काठमाडौं । जी–२० शिखर सम्मेलनको घोषणापत्रको मस्यौदामा रुस युक्रेन युद्धले विश्वव्यापी अर्थतन्त्र कमजोर बनाएको उल्लेख गरिएको छ । युक्रेन युद्धको निन्दा गर्दै यसले विश्वव्यापी अर्थतन्त्र कमजोर बनाएको उल्लेख गरिएको हो ।
इन्डोनेसियाको बालीमा चलिरहेको सम्मेलनमा बुधवार भोलिसम्म अन्तिम रूप दिने मस्यौदाको मुख्य भागमा युक्रेन युद्धको निन्दा गरिएको बीबीसीले जनाएको छ । सम्मेलनमा रुसले युक्रेनमा गरेको आक्रमणप्रति धेरैजसो देशका प्रतिनिधिले भर्त्सना गरेका छन् ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले युक्रेनमाथि बर्बर युद्ध भइरहेको भन्दै आक्रमण अन्त्य गर्न रुसलाई आह्वान गर्नु यो सम्मेलनको मुख्य लक्ष्य रहेको बताए। रुसका विदेशमन्त्री सर्गेई लाभरोभले भने जी–२० घोषणाको मस्यौदामा राजनीतिकरण भएको प्रतिक्रिया दिए ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध रोक्नका लागि १० बुँदे प्रस्ताव अघि सारेका छन् । जेलेन्स्कीको प्रस्तावमा विकिरण तथा आणविक सुरक्षा, खाद्य र ऊर्जा सुरक्षालगायतका विषय समावेश रहेका बीबीसीले जनाएको छ ।
यस्तै उनले रुसले हिरासतमा राखेका आफ्ना नागरिकलाई रिहा गर्नुपर्ने, राष्ट्र सङ्घको बडापत्रको पालना हुनुपर्ने, युक्रेनबाट रुसी सेना फिर्ता हुनुपर्ने र युक्रेनले न्याय पाउनुपर्ने प्रस्ताव गरेका छन् । उनले प्राकृतिक स्रोत तथा वातावरणको रक्षा र दुई पक्षबीच तनावको स्थिति अन्त्य गर्दै युद्ध अन्त्य भएको पुष्टि गर्नुपर्ने बताए ।
राष्ट्रपति जेलेन्स्कीले विश्वमा अस्थिरताको अन्त्यका लागि युद्ध अन्त्य गर्न आवश्यक ठानेकाले शान्तिको प्रस्ताव गरेको तर दुष्ट प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्न युक्रेन प्रतिबद्ध रहेको बताए।