काठमाडौं । निजी क्षेत्रले आसन्न निर्वाचनपछि मुलुकको अर्थतन्त्र सबल बनाउनसक्ने सरकारको खाँचो रहेको बताएको छ । निजी क्षेत्रले आसन्न निर्वाचनपछिको सरकारले निजी क्षेत्रसँग सहकार्य गरी अर्थतन्त्रलाई चलायमान बनाउने र पूर्वाधारको विकास गर्नसक्ने एजेण्डालाई प्रमुख प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो ।
निजी क्षेत्रका ठूला छाता संगठन नेपाल उद्योग वाणिज्य संघ र नेपाल उद्योग परिसंघले मंसिर ४ गतेको निर्वाचनपछि बन्ने सरकारको प्रमुख एजेण्डा आर्थिक क्रान्ति हुनुपर्ने माग राखे । आज सोमबार संचारकर्मीसँग कुराकानी गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने राजनीतिक दल निर्वाचित भए देशको आर्थिक अवस्था सुदृढ हुने विश्वास व्यक्त गरे ।
उनले नेपालमा राजनीतिक परिवर्तन भएसँगै सबै राजनीतिक दलहरुले आर्थिक समृद्धिका एजेण्डा बोकेपनि आर्थिक समृद्धिलाई बोलीमा मात्रै सीमित गरेको आरोप लगाए। उनले मंसिर ४ गतेको निर्वाचनमा सबै पार्टीहरुको घोषणापत्र समेत आर्थिक समृद्धिका कुरा विशेष जोड दिएको बताए । अध्यक्ष गोल्छाले मुलुकमा आर्थिक समृद्धि र निजी क्षेत्रसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा कुनैपनि पार्टी गम्भीर नभएको बताएका छन् ।
उनले पूर्वाधारको विकासले मात्रै मुलुकमा आर्थिक समृद्धि ल्याउन सक्ने दावी गरे । उनले राजनीतिक दलहरु सीमित राजनीतिक एजेण्डाहरुमा मात्रै नभइ सीमित एजेण्डा भन्दा माथि उठेर पूर्वाधार विकास गर्न र निजी क्षेत्रसँगको सहकार्यलाई विशेष जोड दिने पार्टीको सरकार आवश्यक भएको बताए ।
त्यस्तै, नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निर्वाचनबाट मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन सक्ने नेतृत्वको सरकार हुनुपर्ने बताए । उनले मुलुकमा हरेक व्यवस्था परिवर्तन गर्ने राजनीति शक्ति भएकाले सबल, सक्षम र सफल करियर भएका नेतृत्व आए मात्रै मुलुकमा सुशासन आउनसक्ने बताएका छन् । उनले देशमा समृद्धि कायम गर्न मुलुकको अर्थतन्त्रलाई ड्राइभ गर्न सक्ने सक्षम नेतृत्व आउनुपर्छ भन्ने पक्षमा परिसंघ रहेको बताए ।
उपाध्यक्ष अधिकारीले मुलुकमा आर्थिक समृद्धि र सुशासन राजनीतिक परिर्वतनबाट आउने भएकाले सक्षम नेतृत्व नै अहिलेको आवश्यक्ता भएको दावी गरे।