काठमाडौं । काठमाडौं–१ मा पुकार बमलाई चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समर्थन गरेका छन् । आइतबार (आज) एक सन्देशमार्फत उनले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र सामाजिक न्यायको अभियानमा झण्डै १० वर्षदेखि सक्रिय रहेका कारण आफूले बमलाई सही उम्मेदवारका रुपमा लिएको बताएका छन् ।
‘केसीले भने, यो अभियानमा उहाँ प्रत्यक्ष रुपमा नै सहभागी हुनुहुन्छ, त्यो सँगसँगै राष्ट्रिय मुद्दामा, सामाजिक, आर्थिक मुद्दामा उहाँहरुले जुन पार्टीको सरकारको हुँदा पनि जवाफदेही बनाउन सक्रिय हुनुभएको छ’।
उम्मेदवार बमले राष्ट्रिय विपदमा परेका बेला नेपाली समाज र पीडित वर्गलाई ठूलो सहयोग गरेको र आफ्नो स्वास्थ्यको समेत परवाह नगरेर स्वच्छ, सभ्य लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्न कोशिस गरेको केसीले बताए ।
‘उहाँहरुले राजनीतिको भ्रष्टीकरण र अपराधीकरणविरुद्ध आवाज उठाउनुभएको छ । अहिले पनि लागिरहनुभएको छ’ उनले भिडियो सन्देशमा भनेका छन्, ‘उहाँहरु जनप्रतिनिधिका रुपमा प्रतिनिधिसभामा पुगेर सेवा गर्ने इच्छा राख्नुभएको छ । उहाँहरुलाई सेवा गर्ने कम्तीमा एकचोटी भए पनि मौका दिऔं ।’
विवेकशील नेपाली दलको सह संस्थापक बम हाल राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं १ को उम्मेदवार रहेका छन् । यो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशमान सिंह, नेकपा एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, सुशासन पार्टीका रमेश खरेललगायत उम्मेदवार छन् ।