काठमाडौं । नेपाली चलचित्र (महापुरूष)आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रले तेस्रो सातामा पनि दर्शकको माया पाउनुको साथै घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ ।
चलचित्रले दुई सातामा ७ करोड कमाएको निर्देशक भट्टराईले बताए। ‘चलचित्रले दुई सातामा ७ करोड माथि व्यापार गरेको छ । नेपालमा मात्र नभई चलचित्रले अन्य देशमा पनि राम्रो प्रदर्शन गरिरहेको छ ।
अहिलेसम्म अमेरिकाको तीन वटा सहरमा ‘महापुरूष’ प्रदर्शन भएको छ । उनले भने, त्यहाँका दर्शकले राम्रो प्रतिक्रिया दिइरहनु भएको छ। अमेरिकामा हिन्दी फिल्म सरह नै दर्शक आइरहनु भएको जानकारी पाएका छौं। यसले हामीलाई थप उत्साह दिएको छ,’ ।
यो चलचित्रले पहिलो साता ४ करोड ५० लाख कमाएको थियो भने दोस्रो साता २ करोड ५० लाख माथि कमाएको हो । एकल बुवाको बुढ्यौलीमा बसेको प्रेमले ल्याउने उतारचढाबलाई फिल्ममा देखाइएको छ । फिल्ममा हरिवंश आचार्य र गौरी मल्ललाई जोडीको रूपमा प्रस्तुत गरिएको छ ।
सामाजिक विषयवस्तुमा आधारित फिल्म ‘महापुरूष’ मा हरिवंश र गौरीसँगै मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अरूण क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बाँस्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, प्रज्वल लुइँटेललगायत कलाकारको अभिनय छ।