काठमडौं । निर्वाचन आयोगले १ सय ४१ अस्थायी मतदान केन्द्र निर्धारण गरेको छ । मंसिर ४ मा हुने आमचुनावमा उनीहरूले प्रतिनिधिसभाको समानुपातिकमा मात्रै मतदान गर्न पाउनेछन् ।
अस्थायी मतदान केन्द्रका मतदाता सूचीमा १ लाख ४८ हजार अस्थायी मतदाता सूचीकृत भएका छन् । संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, तीनै तहको सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका सुरक्षाकर्मी, कारागारमा रहेका थुनुवा, कैदी र वृद्धाश्रममा रहेकालाई लक्षित गरेर अस्थायी मतदान स्थल राख्न लागिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए ।
देशभर २५ हजार ९ सय ६ कैदी र बन्दी भए पनि मतदाता सूचीमा सूचीकृत नभएकै कारण मतदाता न्यून छन् । केन्द्रीय कारागार सुन्धारामा ३ हजार ४ सय कैदी रहेकामा मतदाता २० जना मात्रै रहेको कारागार विभागले जनाएको छ ।
त्यस्तै पर्साका ३७, डिल्लीबजारका कर्मचारीसहित १ सय २३ जना, नख्खुका ५० जना मात्रै मतदानमा सहभागि हुन पाउने भएका छन् ।
यस्तै, मकवानपुरस्थित क्षेत्रीय कारागार भीमफेदीका २८ जना, कास्की जिल्ला कारागारका ७ कैदीबन्दी, बाँके कारागारका दुई जना, सुनसरीको झुम्का कारागारका ४१ जना र अछाम जिल्ला कारागार मंगलसेनका ७ जना कैदीबन्दीले मात्र मताधिकार प्रयोग गर्न पाउनेछन्।