काठमाडौं । सङ्खुवासभामा प्रतिनिधि सभा सदस्यका लागि पुरानै अनुहारबीच प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दीपक खड्का र नेकपा एमालेका राजेन्द्र गौतमबीच बेस्ट अफ थ्री को रोचक प्रतिस्पर्धा हुने भएको हो ।
सङ्खुवासभामा १० वटा राजनीतिक दलसहित दुई जना स्वतन्त्रले प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गरे पनि कांग्रेसका खड्का र एमालेका गौतमबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको हो । दुवै नेता जिल्लामा स्थापित हुन् भने केन्द्रसम्म पनि राम्रै पकड छ ।
खड्का कांग्रेसका जिल्ला सभापति हुन्। उनी २०७० सालमा सांसद बन्दा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको समयमा खानेपानी राज्यमन्त्री बनेका थिए। गौतम नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्।
गौतम र खड्काबीच यसअघि दुई पटक चुनावी प्रतिस्पर्धा भएको छ । दुवै जनाले पालैपालो एकरएक पटक चुनाव जितेका छन् । २०७० सालको चुनावमा खड्का र गौतमबीच प्रतिस्पर्धा भएको थियो । त्यति बेला गौतमलाई हराउँदै खड्का सांसदमा निर्वाचित बनेपछि राज्यमन्त्री बनेका थिए।
त्यसपछि २०७४ सालको चुनावमा पनि खड्का र गौतम दोस्रो पटक चुनावी प्रतिस्पर्धामा थिए । त्यति बेला गौतम विजयी भएका थिए। अहिले खड्का र गौतमबीच तेस्रो पटक अर्थात् बेस्ट अफ थ्री का लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
२०७४ को चुनावमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ रहेको थियो । त्यति बेला कांग्रेसले एक्लै प्रतिस्पर्धा गरेको थियो । अहिले त्यही माओवादी केन्द्रको साथ कांग्रेसलाई रहँदा एमाले एक्लै चुनावी प्रतिस्पर्धामा छ ।
पालिका चुनावको नतिजालाई हेर्दा सङ्खुवासभामा कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टीबीचको गठबन्धनका कारणले १० वटा पालिकामा १२ जना मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष जितेको छ भने नेकपा एमालेले आठ जना मेयररउपमेयर, अध्यक्षरउपाध्यक्ष जितेको छ ।
जिल्ला समन्वय समितिमा एमाले शून्य छ । जिल्लाको ७६ वटा वडामा एमालेले ३८, कांग्रेसले २९ र माओवादी केन्द्रले नौ वडामा वडाध्यक्ष जितेको छ ।
यति बेला सङ्खुवासभामा खड्का र गौतमबीचको बेस्ट अफ थ्री को प्रतिस्पर्धामा को विजयी होला भनेर मतदाता उत्सुक बनेका छन् । सङ्खुवासभामा एक प्रतिनिधि सभा र दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको छ ।
सङ्खुवासभामा पाँच वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको अनुसार जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ जना मतदाता रहेका छन् । त्यहाँ एक सय आठ वटा मतदानस्थल र एक सय ६२ वटा मतदान केन्द्र रहेको छ ।