काठमाडौं । पाँचदलीय गठबन्धनमा आवद्ध दलहरुले निर्वाचनमा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । गठत्रबन्धनको निर्वाचन परिचालन सचिवालय समितिको संयुक्त बैठकले आज निर्वाचनमा देखिएका समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको हो।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा कांग्रेसको निर्वाचन परिचालन सचिवालय समिति संयोजक अम्बिका बस्नेतको अध्यक्षतामा बसेको बैठकले चुनावी अभियानमा देखिएको समस्या समाधान गर्दै जाने विषयमा छलफल गरेको छ ।
बैठकबारे जानकारी दिँदै नेपाली कांग्रेसका नेता तथा कांग्रेस निर्वाचन परिचालन सचिवालय समितिको सह–संयोजक दिव्यमणि राजभण्डारीले गठबन्धनका समस्या समाधान गर्दै धेरै भोट प्राप्त गर्नेगरी चुनावी अभियानमा जाने विषयमा छलफल भएको बताए।
उनले स्थानीयदेखि केन्द्रिय स्तरसम्मका पार्टी सदस्यहरुलाई चुनावमा परिचालन गर्ने सम्बन्धमा सहमती भएको उल्लेख गरे । गठबन्धनमा देखिएका केही समस्या छ भने त्यस समस्यालाई निराकरण गर्दै जाने र चुनावमा कसरी धेरै भोट हासिल गर्नका लागि राम्रो समझदारीमा चुनावमा जानको निम्ति छलफल भयो।
माओवादी नेता महेश्वर दाहालका अनुसार कतिपय ठाउँमा अझैपनि बागि उम्मेदवारहरु रहेकाले बागि फिर्ता गराउने विषयमा छलफल भएको बताइएको छ। त्यस्तै गठबन्धनका नेता, कार्यकर्ताहरु नै चुनावमा सक्रिय नभएको भन्दै उनले त्यस्ता समस्या समाधानका लागि गठबन्धनमा छलफल अघि बढेको बताए।
बैठकमा कांग्रेसको तर्फबाट नेताहरु अम्बिका बस्नेत, दिव्यमणि राजभण्डारी र सुरेश आचार्यको सहभागिता थियो। माओवादीबाट महेश्वर दाहाल, गोविन्द आचार्य र विष्णु सापकोटा सहभागी थिए। त्यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट लक्ष्मण केसी, लोकतान्त्रिक समाजवादी पार्टीबाट दामोदर आचार्य र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी उपस्थित थिए ।