काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल समावेशी लोकतन्त्र संस्थागत गर्ने मार्गमा रहेको बताएका छन् ।
राष्ट्रपति भण्डारीले मानव अधिकार, समानता र भेदभावरहित सिद्धान्तहरुलाई अंगीकार गर्दै नेपालले समानता र न्यायपूर्ण समाज निर्माणका लागि शिक्षा, सार्वजनिक स्वास्थ्य, रोजगारी तथा समावेशी सामाजिक प्रबन्धहरुमा लगानी गरिरहेको पनि बताइन् ।
आईसल्याण्डमा आयोजित विश्वका महिला राजनीतिज्ञहरुको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’को कार्यक्रममा बोल्दै उनले नेपालले संघीय र प्रादेशिक विधायिकाहरुमा एक तिहाई महिलाहरुको प्रतिनिधिको सुनिश्चित गरेको तथा त्यसका लागि आवश्यक सुदृढ संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराएकी छिन् ।
राष्ट्रपति भण्डारीले नेपालमा निजामती सेवा, सुरक्षा निकाय, सरकारी तथा निजी संस्थानहरुजस्ता क्षेत्रमा महिलाहरुको सहभागिता तथा प्रतिनिधित्वमा अभिवृद्धि भईरहेको बताइन् । सबै प्रकारका लैंगिक हिंसा, पूर्वाग्रह, तथा कूरीतिहरु विरुद्धको लडाई जित्न बाँकिनै रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले नेपालले त्यसका लागि अटल र इमान्दार प्रयासलाई जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरेकी छिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक प्रभाव न्यूनिकरणका लागि स्रोत, साधन, प्रविधि हस्तान्तरण तथा क्षमता अभिवृद्धिका लागि छरितो तथा पारदर्शी संयन्त्र निर्माण गर्न पनि विश्व समूदायलाई आह्वान गरीन् । नेपालको हरित गृह ग्यास उत्सर्जनमा कुनै पनि भूमिका नरहेता पनि जलवायु परिवर्तनको असर भोग्नु परिरहेको भन्दै राष्ट्रपति भण्डारीले यसको प्रभाव न्यूनिकरणका लागि नेपालले उच्च प्रतिवद्धताका साथ काम गरिरहेको स्पष्ट पारीन् ।
राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको कारण लाखौं मानिसहरुको जीवन जोखिममा परेकाले त्यसको प्रभाव न्यूनिकरणमा सबैले पहल गर्नुपर्ने आवश्यक्ता रहेको बताइन् ।