काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिबिहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरुका वारेसहरुप्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तहरुको नाममा कुनै उम्मेदवार वा राजनीतिक दलको प्रतिनिधिले वारेस बनी मतदान गर्नसक्ने भन्दै उनले चनाखो हुन निर्देशन दिएका हुन् । उनले गत स्थानीय तहको निर्वाचनमा आफैं मतदान गर्नसक्ने मतदाताहरुले समेत आफू अशक्त भएको बहाना बनाइ अरुमार्फत मतदान गराएका केही उदाहरण आएकाले त्यसप्रति सचेत रहन आग्रह गरेका छन् ।
उम्मेदवारको दबावमा कतिपय सक्षम मतदाताले पनि आफू अशक्त भएको बहाना बनाउने गरेको भन्दै त्यसो गर्नु गम्भीर कसुर ठहरिने उनले बताए । निर्वाचन आयुक्त थपलियाले मतदान स्थलको सम्पूर्ण व्यवस्थापन गर्दा अपाङ्ग, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी, अशक्तहरुलाई सहज पहुँचको सुनिश्चितता गर्न पनि निर्देशन समेत दिएका छन् । गर्भवती, सुत्केरी, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, बालबालिका बोकेका महिलाहरु र अपाङ्गता भएकाहरुलाई विशेष प्राथमिकता दिनुपर्ने पनि उनले बताएका छन् ।
उनले दृष्टिबिहीन र शारीरिक अशक्त भएका कुनैपनि कारणले मत संकेत गर्न नसक्ने मतदाताहरुले आफ्नो साथमा लिइ आएको आफ्नो घर परिवारको व्यक्तिलाई मतदान कक्षमा जानको लागि अनुमति दिनपनि आग्रह समेत गरेका छन् । प्रमुख आयुक्त थपलियाले मतदान स्थलमा आवञ्छित क्रियाकलाप गरेर मतदाता प्रभावित गर्नेतर्फ सचेत रहेको बताए ।
उनले यो पटक निर्वाचन आयोगले मतदानको दिनसमेत आवश्यक व्यवस्थासहित नियन्त्रित र व्यवस्थित ढंगले सवारी साधनलाई पनि सञ्चालन गर्नेगरी आवश्यक प्रवन्ध गर्ने र गम्भीर प्रकृतिका अशक्त, ज्येष्ठ नागरिक लगायतका मतदाताहरुलाई सकेसम्म मतदान केन्द्रसम्म जान र फर्किनको निम्ति आवश्यक समन्वय गरी सवारी साधनको आवश्यक प्रवन्ध गरिदिन पनि आग्रह गरेका छन् ।
थपलियाले सबै मतदातालाई सहज ढंगले मतदान गर्ने अवस्था सिर्जना गरी यस पटकको निर्वाचन लैङ्गिक, समावेशी र अपाङ्गतामैत्री दृष्टिकोणबाट नमूना मतदान भएको छ भन्ने स्थापित गर्नेगरी काम गर्न पनि सम्बन्धित पक्षहरुलाई आग्रह गरेका छन् ।