काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले नयाँ क्रान्तिको तयारीका लागि मङ्सिर ४ गतेको चुनाव बहिस्कार गरेको जिकिर गरेका छन् ।
आज काठमाडौंको शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा (बहुमत) र माओवादी कम्युनिस्ट नेपालको संयुक्त आयोजनामा गरिएको चुनाव बहिस्कार सभामा बोल्दै महासचिव वैद्यले नयाँ क्रान्तिको तयारीका लागि चुनाव बहिष्कार गरिएको बताएका हुन् ।
उनले विद्यमान राज्य व्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन आवश्यक रहेको बताए।
उनले भने, ‘यो सत्ताका विरुद्ध, संसदीय व्यवस्थाका विरुद्ध र यी दलहरूको विचारधारका विरुद्ध सङ्घर्ष गर्दै नेपालमा नयाँ जनवादी राज्यसत्ता हुँदै वैज्ञानिक समाजवाद ल्याउन जरुरी छ । त्यहाँ नपुगिकन समस्याको हल हुनेवाला छैन । नयाँ क्रान्तिको तयारी गर्नका निम्ति सत्ता क्रान्तिकारी कम्युनिस्टहरू एकताबद्ध भएर जान जरुरी छ । हाम्रो यो चुनाव बहिस्कार आन्दोलन, हाम्रो यो अवज्ञा आन्दोलन त्यही दिशामा एउटा महत्त्वपूर्ण कदम हो ।’
महासचिव वैद्यले राज्यका तीन वटै अङ्ग– कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको दाबी गरे। शक्ति पृथकीकरणको सिद्धान्त भनिएको भए पनि तीन अङ्गबीच शक्ति सङ्घर्ष चलिरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै उनले निर्वाचन आयोगले आफूहरूलाई दमन गरिरहेको बताए। आफूहरू चुनाव बहिष्कारको पक्षमा रहेको भन्दै आफूहरूलाई आचारसंहिता नलाग्ने उनले जिकिर गरे । उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारूढ गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्ड माथि आक्रोश पोखे।
प्रचण्डले प्रतिगमनको विरुद्धमा लडेको भने पनि आफूहरूमाथि प्रतिगमन गरेको महासचिव वैद्यले बताए । नागरिकको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका विरुद्ध लड्ने हो भनी उहाँले प्रचण्डलाई प्रश्नसमेत गरे ।
उनले भने ‘ठाउँ–ठाउँमा पूरै दमन गरिराखेको छ । यो कारण के हो रु निर्वाचन आयोग के हो ? आचारसंहिता हामीलाई किन लाग्ने ? शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा माइक भाँचिदिने । पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्तालाई गिरफ्तार गर्ने, के हो यो रु यही हो लोकतन्त्र । प्रचण्डजीहरू भन्नुहुन्छ– प्रतिगमनको विरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने अनि कुन प्रतिगमनका विरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरूले नै गरिरहनुभएको छ ।’
कार्यक्रममा बोल्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोलाले मङ्सिर ४ गतेको चुनाव खारेज गरेर स्वाधीन स्वयुक्त सरकार बनाउनुपर्ने जिकिर गरे । उनले स्वाधीन सरकार बनाउँदै संसदीय प्रणालीको अन्त्य गर्नुपर्ने बताए। देशको राजनीतिक मुद्दा समाधान भएपछि मात्रै चुनाव गर्न सकिने उनको भनाइ छ ।