बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा पसल व्यवसाय खोलेर अटेरी गरेका २५ जना व्यवसायीलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिनुभएको छ ।
निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाहिर ननिस्कन आदेश नमानेपछि नियन्त्रणमा दिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनुभयो । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि शनिबारसम्म निषेधाज्ञा जारी गरेको छ ।
प्रशासनले स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ ।
यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि बाँके प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेमा पहिलो पटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।