काठमाडौं । रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा (एमाले), राप्रपा र जसपाको संयुक्त प्रतिबद्धतापत्र आज सार्वजनिक भएको छ । बुटवलमा पत्रकार सम्मेलन गरी प्रतिबद्धतापत्र सार्वजनिक गरिएको एमालेले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेल तथा प्रदेश सभा सदस्य उम्मेदवार लीला गिरी र भोजप्रसाद श्रेष्ठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निरञ्जन थापा, समानुपातिक उम्मेदवार एवम् प्रदेश अध्यक्ष प्रदीपकुमार उदय, मृगेन्द्रकुमार शेरचन लगायत उम्मेदवार तथा नेताहरूले प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धतापत्रमा एकीकृत विकास र रूपान्तरणकारी पूर्वाधारसहितको बृहत् लुम्बिनी, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आवास तथा भूमि व्यवस्था, युवा उद्यमशीलता, श्रम तथा रोजगार, पर्यटन, कला र संस्कृतिको विकास गरिने उल्लेख छ ।
प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही –२ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आफ्नो ड्रिम प्रोजेक्टको रूपमा कालीगण्डकी–तिनाउ नदी डाइभर्सन परियोजना अघि बढाउने प्रतिबद्धता जनाए ।