काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले देशमा अझै जातीय मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका छन् । शनिबार आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुक्ति प्राप्त हुन नसकेको भन्दै मुक्तिका लागि संघर्ष गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले देशमा रुपान्तरणको लागि सामन्तवाद, साम्राज्यवाद, बाहुनवाद विरुद्ध लडेर संघर्ष गर्दा पनि वर्गीय, जातीय, महिला, दलित, मधेसी समुदायको मुक्ति हुन नसकेको बताए । महासचिव वैद्यले जातीय र वर्गीय मुक्तिका निम्ति संघर्ष गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवाद, पहाडिया शोषण वादका विरुद्ध लड्दै गर्दा संशोधनवादका विरुद्ध पनि लड्न अत्यावश्यक रहेको बताए । उनले संशोधनवाद सबै क्षेत्रमा फैलिसकेको उल्लेख गर्दै संशोधनवादका विरुद्ध नलडिकन मुक्ति हुन प्राप्त हुन नसक्ने बताए ।
उनले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने नसोच्न आग्रह गर्दै अझै क्रान्ति पूर्ण रुपमा पूरा हुन नसकेको जिकिर गरे ।
उनले भने– ‘ अब हामी फेरि मुक्तिका निम्ति संघर्ष गर्न जरुरी छ । जातीय, मुक्ति, वर्गिय मुक्ति र सबै मुक्तिको निम्ति संघर्ष गर्न जरुरी छ । धेरै संघर्ष गरियो तर मुक्ति प्राप्त गर्न सकिएको छैन । यसका लागि पुनः संघर्ष जरुरी छ । सामन्तवाद, साम्यवाद, पितृसत्तात्मकवाद, व्राह्मणवादका लागि लड्ने पनि ठिक छ, पहाडिया शोषणवादका विरुद्ध लड्ने पनि ठीक छ, तर यसको साथमा संशोधनवादका विरुद्ध पनि लड्नुपर्छ । संशोधनवादका विरुद्ध नलडिकन मुक्ति हुन सक्दैन, किनभने त्यो संशोधनवाद सबैमा घुसेको छ । त्यसकारणले संशोधनवादका निमित्त लडेर क्रान्ति पूरा भयो भन्ने छ, क्रान्ति पूरा भएको छैन ।’