काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले नेपालका कम्युनिष्ट पार्टीलाई कमाउनिष्ट पार्टीको संज्ञा दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सार्वजनिक गरेको चुनावी प्रतिवद्धतापत्रमार्फत कांग्रेस र कम्युनिष्ट पार्टीहरुलाई उक्त संज्ञा दिएको हो ।
जसपाले आफ्नो प्रतिवद्धतापत्रमा भनेको छ– ‘राजनीतिक विचारधाराअनुरुप विगत लामो समयदेखि नेपालमा मूलतः तीन थरीका विचारधाराहरु अभ्यासमा रहे । पहिलो विचारधारा हो– साम्यवादी लक्ष्य बोकेको कम्युनिष्ट विचारधारा । यो विचारधारालाई नै विश्व दृष्टिकोण मानेर धेरै कम्युनिष्ट पार्टीहरु जन्मिएका छन् । नेपालमा पनि धेरैथरी कम्युनिष्ट पार्टीहरूले आफूलाई साम्यवादी कित्तामै उभ्याएका छन् । तर, ती व्यवहारतः अवसरवादी र ‘कमाउनिष्ट’ भइसकेका छन् ।’
पूँजीवादी उदारवादी विचारधारालाई अँगाल्ने पार्टी नेपाली कांग्रेस रहेको उल्लेख गर्दै जसपाले कांग्रेसले अहिलेको वर्तमानको अर्थराजनीतिक जटिलतालाई निकास दिन नसकेको दावी गरेको छ । प्रतिवद्धतापत्रमा भनिएको छ– ‘इतिहासकै ब्याजमा धानिएको पार्टीको रुपमा कांग्रेसले पारम्परिक राजनीति गरिरहेको छ ।
’ धार्मिक कट्टरपन्थी र कुनै न कुनै रुपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रुपमा ग्रहण गर्ने विचारधारा पनि देशमा रहेको जसपाको प्रतिवद्धतापत्रमा उल्लेख छ ।
‘देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्दासमेत धार्मिक कट्टरपन्थी र कुनै न कुनै रुपमा राजतन्त्रात्मक शासन प्रणालीलाई आदर्शको रुपमा ग्रहण गर्ने विचारधारालाई राजनीतिक दृष्टिकोण मानेर अघि बढ्ने दलहरू अझै पनि छन् ।
नेपालमा अहिलेसम्म यिनै विचारधाराको वरिपरि बनेका पार्टीहरूले शासन चलाएका कारण देशको अर्थराजनीतिक रुपान्तरण हुन सकेको छैन’ प्रतिवद्धता पत्रमा उल्लेख छ ।
प्रतिवद्धता पत्रमा जसपालाई ‘सङ्घीय समुन्नत समाजवाद’ अर्थात् संघीय समाजवादी गणतन्त्रको सिद्धान्त निरुपण गर्ने पार्टीका रुपमा उल्लेख गरिएको छ ।