काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा २ मा आफ्नो प्रतिस्पर्धी नै पत्ता लगाउन नसकेको बताएका छन्। शुक्रबार (आज) गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा प्रचण्डले प्रतिष्पर्धी नै पत्ता लगाउन नसकेको बताएका हुन्।
‘मैले त वास्तवमा कोही पनि प्रतिस्पर्धी नभएजस्तो मानेको छु। प्रतिस्पर्धी मैले पत्ता लगाउन सकिनँ,’ उनले भने, ‘प्रतिस्पर्धी देखेको पनि छैन, चिनेको पनि छैन।’
प्रचण्डले कात्तिक १२ र १३ मा गोरखामा ४४ वटा सभा गरेका थिए। आज ५ वटा सभालाई सम्बोधन गरेका छन् । आफूले यति धेरै सभा गर्दा पनि प्रतिस्पर्धी को हुन् भन्ने पत्ता लगाउन नसकेको उनको भनाइ थियो।
गोरखा २ मा नेकपा एमालेबाट अब्दुस मियाँ, राप्रपाबाट सुशील पन्त, नेपाली कांग्रेस बिपीबाट टीकादत्त पोखरेललगायत उम्मेदवार छन्। प्रचण्डले आफू प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने पनि बताए । ‘
’उनले भने, साथीहरूले सम्भावित प्रधानमन्त्री भनिरहनुभएको छ। सम्भावित प्रधानमन्त्री त हुँ। तर म प्रधानमन्त्रीका लागि मरिहत्ते गरिरहेको छैन,
गोरखामा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी दल हुन्। गत वैशाखमा भएको स्थानीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धामा उत्रेका कांग्रेस र माओवादी अहिले भने गठबन्धन बनाएर चुनावी मैदानमा छन्। गोरखा १ मा कांग्रेस नेता राजेन्द्र बजगाईं उम्मेदवार छन्।