अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा नेपाली समय अनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर अवतरण गरेको छ ।मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन प्रयोगशालाबाट भएको थियो ।
बन्दुकको गोलीभन्दा तिब्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहेको यो यानलाई मङ्गलग्रहको वायुमण्डल छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान गरेका थिए । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्ने, र रेडियो सङ्केत समेत केही समय अबरुद्ध हुने नासाको भनाइ छ । अमेरिकी अन्तरिक्ष संस्था (नासा) को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको हो । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।
मानवरहीत यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको मङ्गलग्रहमा अन्तरिक्ष यान पु¥याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकहरुले खुशीयाली मनाएका छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो । यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए । नासाको यस पटकको अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणहरु समेत जडान गरिएको छ । यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ ।
इन्साइट ल्याण्डर के हो ?
मंगल ग्रह पृथ्वीसँग मिल्दोजुल्दो छ । त्यहाँ जीवनको सम्भावना छ कि छैन भनेर खोज तथा अनुसन्धान जारी छ । तर, इन्साइट ल्याण्डरले मंगल ग्रहबारे यस्ता जानकारी दिनसक्छ जुन अर्बौं वर्षदेखि वैज्ञानिकहरुले पत्ता लगाउन सकेका छैनन् ।आफ्नो अभियानको क्रममा यो यानले मंगल ग्रहमा एक साइज्मोमिटर राख्ने छ । त्यसले मंगल ग्रहभित्रको हलचल रेकर्ड गर्न सक्छ ।
मंगल ग्रह मुनि भूकम्पजस्तो हलचल हुन्छ कि हुँदैन भन्ने कुरा त्यसले पत्ता लगाउने छ । मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको इन्साइट ल्याण्डर पहिलो अन्तरिक्ष यान हो । साथै एक जर्मन उपकरणले मंगल ग्रहको पाँच मिटर तल गएर त्यहाँको तापमान पत्ता लगाउने छ । ग्रहको यो तापमानले मंगल ग्रह अझै पनि कति सक्रिय छ भन्ने कुरा पत्ता लाग्ने नासाका वैज्ञानिकहरु बताउँछन् । यसमा राखिएको रेडियो ट्रान्समिशनले मंगल ग्रह आफ्नो अक्षमा डगमगाउँदै कसरी घुम्छ भन्ने कुरा पनि पत्ता लगाउने छ ।