काठमाडौं । व्यवसायीहरूले शुक्रबार आज काठमाडौंको माइतीघरमा बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध एक घण्टा आन्दोलन गरेका छन् ।
बैंकहरूले कर्जाको ब्याजदर शतप्रतिशत बढाएको, सेवा शुल्कमा दोब्बरले वृद्धि भएको, राष्ट्र बैंकले कोरोना कालमा दिएका सुविधा हटाइएसँगै तरलता अभाव भएको र यसले थप ऋण जारी हुन छाडेको भन्दै व्यवसायीहरूले आन्दोलन गरेका हुन्।
आन्दोलनमा उद्योगीहरूका संगठनदेखि बैंक तथा वित्तीय संस्थामा सञ्चालक नै रहेका व्यवसायीहरू समेत सामेल थिए। बैंकहरूले जोखिम हेरेर आधारदरमा २, ३ प्रतिशत मात्र प्रिमियम थपेर ब्याजदर लिनुपर्नेमा ८ प्रतिशतसम्म प्रिमियम लिइएको भन्दै व्यवसायीहरूले यसको पनि विरोध गरेका छन्।
बैंकहरूले यसअघि निःशुल्क लिदैँ आएका सेवाहरूमा समेत सेवा शुल्क लगाइएको, निक्षेपको ब्याजदर बढाइएपनि प्रणालीमा पुँजी नथपिएको र बैंक तथा व्यवसायी दुवैको लागतमा मात्र वृद्धि भइरहेको भन्दै व्यवसायीहरूले यो समस्या समाधान गर्न भनेका छन्।
व्यवसायीहरूका अनुसार यसरी ब्याजदरमा भएको वृद्धिको कारण उद्योगहरूको ४० देखि ५० प्रतिशत उत्पादनमा कमी आएको छ। केही व्यवसायीहरू पलायनकै अवस्थामा रहेको समेत आन्दोलनमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सरकारले आयातमा लगाएको प्रतिबन्ध नखुलाएको र राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा सम्बन्धी व्यवस्थाले समेत व्यवसायीहरूलाई समस्या परेको उनीहरूले उल्लेख गरेका छन्।
यसअघि पनि व्यवसायीहरूले देशका विभिन्न स्थानमा आन्दोलन गरेसँगै अर्थमन्त्रालयले अध्ययन समिति बनाएको भएपनि त्यसयता खासै सुधारका काम नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
आन्दोलनमा काभ्रे, सिन्धुली, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धुलिखेल, कीर्तिपुर, शंखरापुर, गोदावरी, पनौती लगायतका विभिन्न स्थानका रहेका व्यवसायिक संगठनको उपस्थिति रहेको थियो।
आन्दोलनमा एनआइसी एशिया बैंकका सञ्चालक तथा व्यवसायी रामचन्द्र संघाई, सिटिजन्स बैंकका सञ्चालक समेत रहेका व्यवसायी प्रवलजंग पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो।