काठमाडौं । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ‘विना ढेउवाके’ विदेश पठाइदिन्छौं भन्नु युवाप्रतिको विश्वासघात भएको बताएका छन् । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको चुनावी आश्वासनप्रति आपत्ति जनाएका हुन् ।
रौतहट क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहेका नेता नेपालले आफूलाई जिताए विनापैसा (विना ढेउवाके) विदेश पठाउछौ भनेर मतदाता माझ गरेको भाषणलाई कटाक्ष गर्दै ज्ञवालीले भने, ‘युवाहरूलाई विदेश पठाउने होइन, आफ्नै ठाउँमा रोजगारी दिने हाम्रो प्रतिबद्धता रहेको छ।’
गाउँ–गाउँमा विकास पुगेको तर युवा जति विदेश पलायन भएको भन्दै उनले अब युवा पलायनलाई रोक्न स्वदेशमै केही गर्नेगरी काम गरिने रणनीति बनाएको जानकारी दिए । सो अवसरमा गुल्मी क्षेत्र नम्बर–१ का एमालेको तर्फबाट उम्मेदवार रहेका ज्ञवालीले मतदातासामु आफ्ना प्रतिबद्धतासमेत सार्वजनिक गरे ।
जसमा उनले पाँच वर्ष सांसद हुँदा आफ्नो क्षेत्रमा गरेका काम र अब गर्ने काम प्रस्तुत गरेका थिए। नेता ज्ञवालीले आफू निर्वाचित भएपछि कालीगण्डकी करिडोर, रेसुङ्गा विमानस्थल, गर्जुरा पार्क, उनायचौरमा विद्यृत सब स्टेशन, ५० शैयाको गुल्मी अस्पताल निर्माण, अक्सिजन प्लान्ट निर्माण, पालिका स्तरमा १५ शैयाको अस्पताल, सडक पूर्वाधार र खानेपानीलगायत करोडौंका थुप्रै योजना सञ्चालन गरिएको दाबी गरे।
उनले जिल्लाको विपद् र कुनैपनि महामारीमा आफूले जनताको निम्ति उल्लेख्य काम गरेको सम्झिए । आगामी वर्षका लागि यातायात, विद्युत, खानेपानी, स्वास्थ्य, कृषि, उद्योग तथा खानी, युवा खेलकुद तथा रोजगारी, सामाजिक न्याय, सुरक्षा, संस्कृति तथा पर्यटनक्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बताए।