नवलपरासी । पूर्वी नवलपरासीको देवचुलीस्थित अमरज्योति सामुदायिक वनले महिला उपभोक्तालाई आत्मनिर्भर बनाउन दुनाटपरी उद्योग सञ्चालनमा ल्याएको छ ।
वनजङ्गलमा खेर जाने सालको पातबाट दुनाटपरी बनाएर बजारमा बेच्न सुरु गरेपछि यहाँका महिला हर्षित छन् । सामुदायिक वनले वैकल्पिक आम्दानीको स्रोत पहिचान गर्दै खेर गइरहेको वन पैदावरको सदुपयोग गरी दुना टपरीको उद्योग सञ्चालन गरेको हो ।
यसले विपन्न वर्गका उपभोक्ताको सामान्य घर खर्चको जोहो मात्र नभई पर्यावरणीयरुपमा समेत फाइदा पुगेको छ । वनसँग सम्बन्धित विभिन्न गैरसरकारी सङ्घसंस्था र सामुदायिक वनको सहकार्यमा रु तीन लाख १५ हजारको लागतमा सञ्चालित उद्योगबाट प्रारम्भिक चरणमा एक सय महिलाले रोजगार पाएको अमरज्योति सामुदायिक वनका अध्यक्ष टेकलाल रुचाल मगरले बताए ।
परम्परागत नेपाली दुनाटपरीले बजारमा प्लास्टिकका आयातित प्लेटसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ । दुनाटपरी जङ्गलमा प्रशस्त पाइने पातबाट बनाइने भएकाले कच्चापदार्थको अभाव हुँदैन । महिलालाई आयआर्जनका लागि दुनाटपरी उद्योग उपयुक्त हुने अध्यक्ष मगरको भनाइ छ ।
सामुदायिक वनले १३ जना सदस्य रहेको उपसमिति गठन गरेर दुनाटपरी उत्पादनको काम अगाडि बढाएको अध्यक्ष मगरले बताए । वनका उपभोक्ता सदस्यले बनाएर ल्याएको लाफा आवश्यताअनुसार सिन्काले पात गाँसेर फेरो नउठाइएको चरण उपसमितिले टपरी एक रुपैयाँ ४० पैसा र दुना ७० पैसामा खरिद गर्ने गरेको मगरले जानकारी दिए ।
उद्योग चलाउन सामुदायिक वनले गठन गरेको उपसमितिले उपभोक्ताले खरिद गरेर ल्याएको लाफालाई मेसिनबाट दुनाटपरी बनाएर बजारमा पठाउने गरेको छ । तयारी दुनाटपरी बजारमा पुग्दा दुनाको दुई रुपैयाँ ५० पैसा र टपरीको पाँच रुपैयाँ पर्ने गरेको अध्यक्ष मगरले जानकारी दिए ।
सामुदायिक वनमा स्थापित दुनाटपरी उद्योगले सुरुआती चरणमा माग आएका आधारमा उत्पादन गर्ने गरेको छ । विषेशतः जिल्लाको दलदले, कावासोती तथा छिमेकी जिल्ला चितवनको नारायणघाट बजारका होटल तथा रेष्टुरेन्टबाट माग आउने गरेको अध्यक्ष मगरले बताए ।
एक दिन जङ्गल गएर टिपेको पातले तीन÷चार दिन लाफा बनाउन सकिन्छ । यसबाट महिलालाई घरव्यवहार चलाउन सहज भएको दुनाटपरी उद्योग सञ्चालनार्थ गठित उपसमितिकी अध्यक्ष टकमाया नेपालीले बताए । हेर्दा सामान्य लागे पनि दुनाटपरी उद्योगबाट फुर्सदको समय सदुपयोग गरेर दैनिक घरव्यवहार चलाउन पैसा कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो ।