काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनबीच गत साउन २० गते नै आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा देशैभर गठबन्धन गर्ने सहमति भएको थियो । तर, सीट बाँडफाँटमा शीर्ष नेताहरु सफल हुन नसक्दा पूर्ववत् घोषणा विपरित कतिपय निर्वाचन क्षेत्रमा गठबन्धनका दलहरुबीच नै प्रतिस्पर्धा हुने भएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध जन्मिएको पाँच दलीय गठबन्धनमा सीट बाँडफाँटकै कारण फुट आयो । गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको जनता समाजवादी पार्टी ९जसपा० सीट पँजनीमा असन्तुष्टि जनाउँदै गठबन्धनबाट बाहिरिएर विपक्षी दल नेकपा एमालेसँग जोडिन पुग्यो ।
सत्ता गठबन्धनबाट जसपा बाहिरिएसँगै उसको क्षेत्रीय प्रतिस्पर्धी दल लोकतान्त्रिक समाजवादी पार्टी लोसपा गठबन्धनमा सामेल भयो । तर, लोसपाकै कारण कतिपय निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुबीच नै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सृजना भएको छ ।
पूर्ववत् सहमति विपरित आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनका दलहरुबीच ११ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा प्रतिस्पर्धाको समझदारी गरेका छन् । नेपाली कांग्रेसका राजन केसीसँग माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य अञ्जना विसंखेले यो ठाउँमा प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । माओवादीले दाबी गरेको यो ठाउँमा यसअघि पुष्पकमल दाहाललाई हराएका राजन केसीलाई पछि हटाउन कांग्रेस तयार नभएपछि अञ्जनाले अध्यक्ष दाहालकै सहमतिमा उम्मेदवारी दर्ता गराएका हुन ।
जसपाले सत्तागठबन्धन छाडेपछि भित्रिएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले पनि सत्ता गठबन्धनकै उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । सर्लाही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवलाई समर्थन गर्ने निर्णय लिएपछि लोसपा बालुवाटार छिरेपनि धनुषाबाट सर्लाही फर्किएका महतोले सत्ता गठबन्धनसँगै प्रतिस्पर्धा गर्नुपर्ने भएको हो । प्रदेश सभाका केही निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरुबीच नै प्रतिस्पर्धा हुने अवस्था आएको छ ।
प्रदेश सभा क्षेत्रहरुमा कञ्चनपुर–२ ‘ख’, कञ्चनपुर–३ ‘क’, काठमाडौं–३ ‘ख’,काठमाडौं–५ ‘ख’, काठमाडौं–६‘ख’, काठमाडौं–१० ‘क’, पर्सा–३ ‘ख’, बारा–१ ‘ख’ र सर्लाही–१ ‘क’ रहेका छन् । यी क्षेत्रमा सत्ता गठबन्धन दलहरुले मित्रवत प्रतिस्पर्धाको लिखित सहमति गरेर सबै जना उम्मेदवारको सूची नै सार्वजनिक गरेका छन् । कञ्चनपुर–२ ‘ख’ मा नेपाली कांग्रेसका बहादुर सिंह थापा र नेकपा एकीकृत समाजवादीका लालबहादुर खड्काबीच मित्रवत् प्रतिस्पर्धा हुने उल्लेख छ । कञ्चनपुर–३ ‘क’ मा नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश रावल र नेकपा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टबीच यस्तै सहमति भएको बताइएको छ ।
काठमाडौं–३ ‘ख’ मा नेपाली कांग्रेसका विमल ठकुरी र माओवादी केन्द्रका महेश्वर फुँयाल, काठमाडौं–५ ‘ख’ मा कांग्रेसका श्यामबहादुर खड्का र एकीकृत समाजवादीका बालकृष्ण श्रेष्ठबीच प्रतिष्पर्धा गराउने शीर्ष नेताहरुबीच सहमति बनेको छ । यस्तै, काठमाडौं–६‘ख’ मा कांग्रेसका विष्णुभक्त तिमिल्सिनाले माओवादीका प्रकाश फुँयाल र काठमाडौं–१०‘क’ मा कांग्रेसका पुकार महर्जनले माओवादीका दिलिप महर्जनसँग प्रतिष्पर्धा गर्नुपर्ने भएको छ ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुले सार्वजनिक गरेको साझा उम्मेदवारहरुको सूची अनुसार पर्सा–३ ‘ख’ मा कांग्रेसका जनार्दन सिंह क्षेत्री र एकीकृत समाजवादीका प्रह्लाद गिरी, बारा–१ ‘ख’ मा कांग्रेसका नागेन्द्रप्रसाद र एकीकृत समाजवादीका बतहु यादव तथा सर्लाही–१ ‘क’ माओवादीका रामचन्द्र सिंह कुसवाह र लोसपाका उपेन्द्र महतोबीच प्रतिष्पर्धा हुँदै छ ।