काठमाण्डौ। छठ पर्वको आज मुख्य दिन । बेलुका नदी तलाउममा गई पूजाआज सहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
आज काठमाण्डौका विभिन्न १३ ठाउँका नदी तथा घाटमा पूजाआजा सहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागपोखरी, कमलपोखरीलगायत बाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।
यस्तै जनकपुरधामको गङ्गासागर, धनुषसागर, अङ्गराज सर, दशरथ तलाउ, जानकी सरोवर, गोरधोइ, अग्निकुण्ड लगायतका स्थानमा छठ पर्वको रौनक छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रवारदेखि सुरु भएको हो । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ ।
दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सक्खर हालेर बनाइएको खिर (खरना) षष्ठी मातालाई चढाइ बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन आज कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको छ ।
कार्तिक शुक्ल सप्तमीका दिन भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ । पहिला तराईको सीमित क्षेत्रमा मनाइने छठ अहिले राष्ट्रिय रुपमा मनाइदै छ । छठ पर्व पछिल्लो समय पहाडी क्षेत्रमा पनि धुमधामले मनाउन थालिएको छ ।