काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र देखिएको विवाद समाधान गर्न बसेको शिर्ष नेताहरुको बैठकमा सरकारी नियुक्तिलाई लिएर अर्को विवाद शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्ति गरिएको विषयलाई लिएर विवाद भएको हो ।
प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा छलफल नै नगरी विवादित व्यक्तिलाई नियुक्ति किन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको नेकपा स्रोतले जनाएको छ ।
पार्टीमा देखिएको विवाद समाधान गर्न बसेको बैठकको शुरुमै वरिष्ठ नेता खनालले भट्टको नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले समेत प्रधानमन्त्री ओलीसँग भट्ट नियुक्तिको विषयमा प्रश्न उठाउनुभएको थियो ।
‘स्वेच्छाचारी रुपमा काम गरेकै कारण पार्टी भित्र विवाद भईरहेको आक्रोश दाहालले पोखेपछि प्रधानमन्त्री ओलीले अब पार्टीभित्र परामर्श गरिने प्रतिबद्धता व्यक्त गरेको स्रोतले जनाएको छ । पार्टीभित्रको सल्लाह, सुझाव र परामर्शमै अब यस्ता नियुक्ति गरिने प्रतिबद्धता ओलीले व्यक्ति गरेपछि बैठक कक्षको वातावरण केही शान्त भएको थियो ।
भट्टलाई सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको थियो । बैठकमा अध्यक्षद्धय ओली र दाहाल, वरिष्ठ नेता खनालका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागि रहनुभएको थियो ।
विगत तीन दिनदेखी सहमती जुटना शुरु भएको बैठक बिनानिष्कर्ष टुंगिरहेको छ । हिजोको बैठकमा समेत ओली र दाहाल आ–आफ्नै अडानमा अडिग रहेकाले सहमती जुटन सकेन् ।
प्रधानमन्त्री ओली सचिवालय बैठकबाट विवादको समाधान खोज्नुपर्ने अडानमा छन् भने दाहाल स्थायी कमिटी बैठकलाई निरन्तरता दिनुपर्ने अडानमा छन् । ओलीले सोमबार जस्तै मंगलबार पनि सचिवालय बैठक नै बस्नुपर्ने प्रस्ताव गर्नुभयो । तर अर्का अध्यक्ष दाहालले ओलीको प्रस्ताव अस्वीकार गर्दै स्थगित स्थायी कमिटी बैठकको मिति तोक्नुपर्ने र त्यहीबाट सहमती खोज्नुपर्ने बताउनुभयो ।
दाहाल, खनाल सहित वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष मध्ये एक पदबाट ओलीले राजिनामा दिनुपर्ने अडानमा छन् । तर ओलीले तत्काल दुबै पदबाट राजिनामा नदिने अडानमा रहेका छन् । साथै आफू अल्पमतमा रहेकाले स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाउन अनिच्छा व्यक्त गर्दै आउनुभएको छ ।