काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिक तथा पर्यटकबाट उठाइरहेको सेवा शुल्क खारेज हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालबाट विदेश उड्दा पर्यटकको टिकटमा जोडिने पर्यटन सेवा शुल्क हटाउन इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसियसन आईटालाई पत्राचार गर्ने तयारी गरिरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पर्यटन सेवा शुल्कको कोड हटेपछि हवाई टिकटमा सेवा शुल्क उठाउन पाइने छैन । त्यसपछि नेपाल पर्यटन बोर्डको आम्दानीको मुख्य स्रोत बन्द हुनेछ ।
बोर्डले नेपालबाट विदेश उड्ने विदेशी नागरिकबाट प्रतिटिकट १ हजार रुपैयाँ र मूल्य अभिवृद्धि कर उठाउने गरेको छ । चालु आर्थिक वर्ष २०७८र७९ मा ५ लाख पर्यटक नेपाल आउने अनुमानसहित बोर्डले बजेट बनाएर कार्यान्वयन थालेको छ ।
प्राधिकरणका प्रवक्ता निरौलाका अनुसार बोर्डले यसरी उठाइरहेको सेवा शुल्क नियमसंगत नरहेको प्राधिकरणको निष्कर्ष छ । १३ देखि २५ अप्रिलससम्म भएको नेपालको हवाई सुरक्षा अडिटका क्रममा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओले सो सेवा शुल्कबारे प्रश्न उठाएको थियो ।
त्यसलगत्तै प्राधिरकणले पर्यटन बोर्डसँग सेवा शुल्कबारे जानकारी मागेको थियो । आईकाओको म्यानुअल अनुसार यात्रुलाई कुनै सेवा शुल्क नलिइकन कुनै पनि शुल्क टिकटमा जोड्न मिल्दैन ।
आईकाओले आफ्नो अडिट रिपोर्टमा यसबारे प्रश्न उठाएको थियो । यस अनुसार प्राधिकरणले इन्टरनेसनल एयरलाइन्स ट्रान्सपोर्ट एसोसिएसन ९आईएटीए०लाई पर्यटन सेवा शुल्क हटाउन पत्रााचार गर्ने तयारी गरेको हो ।
आईएटीएको सदस्य भएका ट्राभल एजेन्सीहरुले अन्तर्राष्ट्रिय उडानको टिकट काट्न पाउने अधिकार हुन्छ । सोहीकारण आईएटीएबाटै कोड खारेज गर्न लागिएको निरौलाले जानकारी दिए । त्यसपछि बोर्डले टिकटबाट उठाइरहेको शुल्क खारेज हुनेछ ।
निरौलाका अनुसार प्राधिकरणले बोर्डलाई आफ्नो ऐनमा समेटेर मात्र शुल्क उठाउन पत्राचार गरेको थियो । प्राधिकरणले विमानस्थलमा रहेको बोर्डको स्टल समेत हटाउन भनेको छ ।