काठमाडौं । बिरामीलाई प्रत्यारोपण गर्न दाताबाट निकालिएको मिर्गौला प्रत्यारोपण नगरेको घटनामा वीर अस्पताल र बिरामी पक्षबीच तीन बुँदे सहमति भएको छ ।
बिहीबार अस्पतालमा भएको छलफलपछि अस्पतालले ती बिरामीको हालसम्मको उपचार खर्च मिनाहा गर्ने र आगामी दिनको उपचार पनि निशुल्क गर्ने सहमति भएको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भुपेन्द्र बस्नेतले जानकारी दिए ।
त्यस्तै पीडित पक्षले विस्तृत छानबिनको लागि स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा निवेदन दिने र छानबिन समितिको प्रतिवेदनको पूर्ण कार्यावन्यन गर्ने सहमति भएको पनि उनले बताए ।
मंगलबार धादिङकी ३२ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपणका लगि उनकी सासुको मिर्गौला झिकिएको थियो ।
तर दाताको शरीरबाट झिकिसकेपछि उक्त मिर्गौला प्रत्यारोपणका लागि अयोग्य देखिएको अस्पतालले जनाएको छ । मिर्गौला प्रत्यारोपणको काम युरोसर्जन डा. अनिल श्रेष्ठ र डा. पारसमणि श्रेष्ठले गर्दै थिए ।
उनीहरु दुवै वीरमा मिर्गौला प्रत्यारोणका लागि अनुमति पाएका चिकित्सक हुन् । बिरामीका भाइ तिलबहादुर रम्तेलले यो विषयमा स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा उजुरी दिने बताए ।
प्रत्यारोपण गर्दा नेपाल सरकारले दिएको बाहेक अन्य लागेको खर्च अस्पतालले फिर्ता दिने सहमति भएको रम्तेलले बताए । अहिले सरकारले मिर्गौला प्रत्यारोण गर्न ४ लाख रुपैयाँ खर्च दिने गरेको छ ।
अस्पतालका निमित्त प्रमुख डा. भुपेन्द्र बस्नेतका अनुसार प्रत्यारोपण गर्न सबै जाँच गरेर दाताको मिर्गौला निकालिएको थियो ।
अस्पतालले यो घटनाको विषयमा छानबिन गर्न सर्जरी विभागका चिकित्सक डा. प्रविण श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ ।