काठमाडाैं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ । असोज मसान्तसम्ममा सरकारको कुल आम्दानी दुई खर्ब ३२ अर्ब १२ करोड रुपैयाँबराबर रहेको छ । तर, खर्च भने प्राप्तिभन्दा ४६ अर्ब चार करोडले बढी अर्थात् दुई खर्ब ७८ अर्ब १६ करोड भएको छ ।
आयभन्दा व्यय धेरै भएपछि संघीय सरकारको खाता ऋणात्मक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले दैनिक अद्यावधिक गर्ने तथ्यांकले संघीय सरकारको खाता ४६ अर्ब चार करोडले ऋणात्मक भएको देखिन्छ । यद्यपि, अन्य बाँकी रहेका भुक्तानीलगायतलाई समेत हिसाब गर्दा सरकार अहिले करिब ७० अर्बले घाटामा रहेको राष्ट्र बैंकको भनाइ छ ।
महालेखाका अनुसार सरकारले पहिलो त्रैमासमा दुई खर्ब आठ अर्ब राजस्व, ७९ करोड वैदेशिक अनुदान र २२ अर्ब ७४ करोड अन्य आम्दानी गरेको छ । हालसम्म सरकारले आन्तरिक ऋण परिचालन गरिसकेको छैन । बाह्य ऋण परिचालन पनि न्यून रहेको देखिन्छ । साउन महिनामा सरकारले एक अर्ब ९८ करोड रुपैयाँ वैदेशिक ऋण परिचालन गरेको थियो ।
भदौ र असोजमा पनि सोही हाराहारी ऋण प्राप्त भएको उनले बताए । यस अवधिमा सरकारले दुई खर्ब २३ अर्ब चालू, १९ अर्ब ६८ करोड पुँजीगत र ३४ अर्ब ७३ करोड वित्तीय व्यवस्थातर्फ खर्च गरेको छ । यता, चालू आर्थिक वर्षको पहिलो तीन महिनामा अघिल्ला वर्षको सोही अवधिको तुलनामा खर्च बढेको देखिएको छ । तर, राजस्व भने घटेको छ ।
महालेखाका अनुसार सरकारले असोज मसान्तसम्म कुल बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडको १५ दशमलव ५१ प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको खर्चको दरभन्दा एक दशमलव १५ प्रतिशत बिन्दुले बढी हो ।
गएको आवको पहिलो तीन महिनामा सरकारले कुल बजेट १६ खर्ब ३२ अर्बको १४ दशमलव ३६ प्रतिशत खर्च गर्न सकेको थियो । यस अवधिमा सरकारको राजस्व भने गएको वर्षको तुलनामा खस्किएको छ ।
सरकारले असोज मसान्तसम्म दुई खर्ब आठ अर्ब राजस्व संकलन गरेको छ । जुन वार्षिक लक्ष्य १४ खर्ब तीन अर्बको १४ दशमलव ८७ प्रतिशत हुन आउँछ । यो गएको आवको तुलनामा ६ दशमलव ७३ प्रतिशत बिन्दुले कमी हो । गएको वर्षको सोही अवधिमा सरकारले वार्षिक लक्ष्य ११ खर्ब ८० अर्बको २१ दशमलव ६ प्रतिशतबराबर राजस्व संकलन गरेको थियो ।