काठमाडौं । एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पूर्वी पहाडी जिल्ला ओखलढुंगामा मंसिर ४ गते हुने निर्वाचनमा रोचक हुने देखिएको छ । जिल्लाबाट २०७० र २०७४ सालमा निर्वाचित भएका एमाले नेता यज्ञराज सुनुवार यो पटक पनि आफ्नो जितलाई निरन्तरता दिँदै ह्याट्रिक गर्ने दाउमा रहेका छन् ।
तर सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामहरि खतिवडाले सुनुवारको ह्याट्रिक रोक्न सम्पूर्ण सामर्थ्य खर्चिरहेका छन् । एमालेका ५० वर्षीय सुनुवार र कांग्रेसका ५२ वर्षीय खतिवडा एकै साल अर्थात २०७० सालको दोस्रो संविधानसभा चुनावमा ओखलढुंगा निर्वाचन क्षेत्र नंं १ र २ बाट निर्वाचित भएर संसद भवन प्रवेश गरेका थिए ।
तर २०७० पछि जिल्लामा एकमात्र निर्वाचन क्षेत्र कायम भएपछि दुवै नेता एकअर्काका प्रतिस्पर्धी बन्न पुगे । जिल्लाका पुराना कांग्रेस नेता स्वर्गीय बलबहादुर राईको राजनीतिक विरासत पछ्याउँदै राजनीतिमा होमिएका खतिवडा र अनेरास्ववियुको केन्द्रीय राजनीतिबाट उदाएका सुनुवारबीच मुलुकको राजनीतिक समीकरण फेरिएकाले पनि मंसिरको निर्वाचन निकै प्रतिस्पर्धात्मक र रोचक हुने देखिएको हो ।
२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा जिल्लाका दुवै क्षेत्र नेकपा माओवादीले जितेकोमा २०७० को निर्वाचनमा माओवादीबाट खोसेर १ मा सुनुवार र २ मा खतिवडाले कब्जा जमाएका थिए । तर, मुलुकमा २०७२ मा संविधान जारी भएपछि २०७४ को निर्वाचनमा एउटामात्रै निर्वाचन क्षेत्र कायम हुनपुग्दा सुनुवार र खतिवडा आपसमै आमनेसामने हुन पुगेका हुन् ।
२०६४ को पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसबाट खतिवडाले टिकट नपाएपनि सुनुवारलाई भने एमालेले क्षेत्र नं. १ को उम्मेदवारका रुपमा अघि सारेको थियो । त्यसबेला माओवादी उम्मेदवार केशव राईसँग पराजित सुनुवार २०७० र २०७४ का दुवै निर्वाचनमा भने पराजित हुन परेन ।
दोस्रो पटक २०७० सालमा भएको संविधानसभा निर्वाचनमा क्षेत्र नं. १ बाट यज्ञराज विजयी हुँदा क्षेत्र नं. २ बाट कांग्रेसका रामहरि निर्वाचित भएर संसद छिरेका थिए । उनीहरु दुवै जिल्लामा आ–आफ्नो क्षेत्र र समुदायमा पकड राख्नसक्ने नेतामा गनिन्छन् ।
युवा पुस्तामा बढी परिचित सुनुवार र खतिवडा आगामी चुनावमा दोस्रो पटक प्रमुख प्रतिस्पर्धीका रुपमा ‘व्याटल ग्राउण्ड’मा छिरिसकेका छन् । खतिवडा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेर २०७४ को बदला लिने तयारीमा छन् भने सुनुवार एमालेबाटै ह्याट्रिक गर्ने कसरतमा छन् ।
त्यसो त २०७४ को निर्वाचनमा सुनुवार माओवादीसहितको मतबाट विजयी बन्दा खतिवडा कांग्रेस मतदाताका भरमा प्रतिस्पर्धामा होमिएका थिए । तर यसपटक परिस्थिति फेरिएको छ ।
अघिल्लो निर्वाचनमा सुनुवारलाई जिताउन सारथी बनेको माओवादी यसपटक खतिवडाको पक्षमा पुगेको छ । त्यतिमात्रै होइन, माओवादीसहित एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीको मत समेत यो पटक खतिवडालाई जाने निश्चित भएकाले उनी जित्नेमा ढुक्क देखिन्छन् ।