काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ ।
सोमवार आज गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँगको भर्चुअल बैठकमा आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका हुन् ।
केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लङ्घनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कन्जुस्याइँ नगर्न पनि आग्रह गरे।
उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उहाँको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्न सक्ने पनि स्पष्ट पारे। उनले आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरूको भूमिकालाई स्पष्टरूपमा उल्लेख गरिएको बताए।
उनले भने, ‘प्रमुख जिल्ला अधिकारीहरूको टड्कारो भूमिका नदेखिँदा आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्नलाई अलि कठिनाइ भएको आयोगले महसुस गरेको छ ।
यदि मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा पनि तपाईँहरू त्यो क्षेत्राधिकार प्रयोग गरेर त्यसलाई तत्काल नियन्त्रण गर्न सक्षम हुनुहुन्छ भन्ने आयोगले विश्वास र ठहर गरेको छ ।
आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहिता उल्लङ्घन गरेको उजुरीहरू आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि निर्देशन दिए ।
भण्डारीआचारसंहिता पालना नभएमा कठोर भएर कारबाही गर्नुपर्ने उनले बताए। आचारसंहिता पालना गराउने सम्बन्धमा कानुनमा अस्पष्टता भएमा आयोगमा लेखेर पठाउन उनको आग्रह छ ।