काठमाडौं । सेयर बजार सोमबार (आज) पनि घटेको छ । बैंकिङ उपसूचकमा वृद्धि भएपनि बजार परिसूचक नेप्से भने घटेको हो ।
सेयर बजार परिसूचक नेप्से २.६१ अंक ९.१४ प्रतिशतले गिरावट भएर १८५६.३१ अंकमा बन्द भएको छ । आइतबार ९.६९ अंकले नेप्सेमा गिरावट भएपनि बैंकिङ उपसूचक भने बढेको थियो ।
दोस्रो कारोबार दिन पनि नेप्से घट्दा बैंकिङ उपसूचक भने बढेको छ । बैंकिङसँगै होटल तथा पर्यटन, निर्जीवन बीमा, म्युचुअल फण्ड, व्यापार र अन्य उपसूचक पनि वृद्धि भएको छ ।
यता कारोबार रकम भने घटेर ५१ करोडमा झरेको छ । आइतबार ८० करोडको कारोबार भएको बजारमा आज भने कारोबार रकम घटेर ५१ करोड ५८ लाख १९ हजारमा सीमित भएको छ ।
जसमध्ये नबिल बैंकको सर्वाधिक २ करोड ७९ लाख १९ हजारको कारोबार हुँदा प्रभु बैंकको २ करोड ६१ लाख ८ हजारको कारोबार भएको छ ।आज सेयर बजारमा १८३ कम्पनीको सेयर कारोबार भएकोमा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ ।
यस्तै ५३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ६ कम्पनीको भने स्थिर छ । आज कारोबार भएको अभियान लघुवित्त र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ३ प्रतिशतले वृद्धि भएको छ ।
यता पिपुल्स पावरको सेयर मूल्य ९.९७ प्रतिशतले गिरावट आएको छ भने बलेफी हाइड्रोपावरको सेयर मूल्य ५.१० प्रतिशतले गिरावट आएको छ ।