काठमाडौं । सरकार ढाल्न र जोगाउन सांसदमाथि लाग्ने सुरासुन्दरीदेखि लाभका पद तथा पैसाको खोला बगाइएकाे इतिहासको विकृत रुपको अर्को अध्याय अब टिकट वितरणबाटै सुरु भएको छ ।
एउटा पार्टीको टिकट पाएको उम्मेदवार मनोनयनमा जाँदा अर्को पार्टीको भइसकेको स्वयं त्यही पार्टीको नेतृत्वले थाहा नपाउने अवस्था भित्रिएको हाे । लोकतन्त्रको कस्तो विचित्र अभ्यास सुरु भएको छ भने आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्छु भन्ने कार्यकर्ता धमाधम कारबाहीमा पर्न थालेका छन् ।
गठबन्धनका नाममा अनन्त शक्ति र सत्तादोहन गर्ने विकृत मानसिकताले गणतान्त्रिक व्यवस्थाको आयुमा प्रश्न उठ्ने क्रम सुरु भएको छ । चुनावदेखि नै विधि, पद्दतिलाई तिलाञ्जलि दिने यो खेलले ल्याउने जटिलताको उपचार देशको राजनीतिक संयन्त्रले थेग्न नसक्ने खतरा बढेको छ । पहिला शुद्ध चुनावको विकृत अनुहार संसदमा हेर्न पाइन्थ्यो । तर, अहिले टिकट बाँडेबाटै विकृति स्थापित हुने गरेको छ । कसैसँग चुनावी सहकार्य नगर्ने अडान देखाउँदै आएको एमाले भूमिका गठबन्धनका विद्रोहीलाई वैधानिकता दिने अस्त्र बनेको छ ।
कमल थापालाई सुर्य चिन्ह दिएर चुनाव उठाउँदा पार्टीको इज्जत कति धुलिसात हुन्छ भन्ने आत्ममूल्यांकन नेतृत्वले गरेको देखिएन । युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, अमृतकुमार बोहोरा जस्तापात्रले टिकट नपाउनु समाचारको मसला बनेन । बरु प्रचण्डको सेखी झार्न कांग्रेसबाट विद्रोह गरेका दिनेश कोइरालाजस्ता मध्यमकोटीका नेता बोकेर आफ्ना कार्यकर्ताको मानमर्दनमा एमाले नेतृत्व रमाएको देखियो ।
प्रभु शाहलाई एमालेले टिकट दियो, चुनावी मैदानमा अर्को पार्टीको टिकट लिएर अवतरित हुनुभयो, अन्ततः उहाँलाई जिताउने ठेक्कालिन गठबन्धनमा हतारो देखियो । एमालेले नपत्याएपछित्रिकोण चुनाव चिन्ह लिएर स्वतन्त्र हैसियतमा चुनावी मैदानमा आएका भुसाललाई अन्ततः गठबन्धनले धाप मारेको छ । सबै भन्दा रोचक त के भने सर्वदलीयदलको अघोषित समर्थनबाट दीपक मनाङे प्रदेश सांसदमा निर्विरोध हुने स्थितिमा पुगेका छन् ।
राजेन्द्र लिङदेन पार्टी सभापति चुनिएपछि असन्तुष्ट भएर अर्को पार्टी खोलेका कमल थापा र लिङदेनलाई एमाले अध्यक्ष केपी ओलीले दुई काँधमा बोकेर हिडेका छन् । कुनै दिन आफ्नै पार्टीबाट सांसद रहेका विनोद चौधरीको रुख काट्न ओलीले दिएको बन्चरो लिएर हृदयेश त्रिपाठी चुनावी मैदानमा छन् । चुनावी झाँकी यतिमै सकिदैन,गठबन्धनबाट बाहिरिनासाथ जनता समाजवादी पार्टीका चार मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले घोक्रेठ्याक लगाएको चौबीस घण्टा नवित्दै मधेश प्रदेशका तीन मन्त्रीले पदबाट भारी बिसाउनु परेको छ ।
माओवादी अध्यक्ष प्रचण्डले चितवन-३ मा गैरराजनीतिक व्यक्तिलाई टिकट दिएर त्यो क्षेत्र आफ्नी मेयर छोरी रेणुका लागि सुरक्षित गरेका छन् ।एक मात्र सन्तान मानुषीको राजनीतिक भविष्य बनाउन डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष प्रचण्डसँग फेरी भद्दा लोलोपोतो सुरु गरेका छन् ।
लोकतन्त्रको मूल्य, मान्यता र विधिकै चिरहरण हुने गरी देखिएका यस्ता खाले गतिविधिले अब बन्ने संसद, सरकार र जनप्रतिनिधिका कामकारबाही लोकतन्त्रको कसिमा कस्तो देखिएला ?